१४ असार २०८३, आइतबार

अर्ब ठगीमा पक्राउ परेका बैंकका सीईओ माधव नेपालका भाञ्जा !

83.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ फागुन । ऋण प्रवाहमा अनियमितता गरेको अभियोगमा पक्राउ परेका प्रभु बैंकका डेपुटी सीईओ तथा सेञ्चुरी बैंकका तत्कालीन सीईओ मनोज न्यौपाने नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका भान्जा रहेको खुलेको छ ।

पूर्वप्रधानमन्त्री नेपालका भान्जा न्यौपानेले सेञ्चुरी बैंकको सीईओमा हुँदा ऋण प्रवाह गर्दा एक अर्ब रुपैयाँ बढी ठगी गरेको आरोप लागेको हो ।

न्यौपानेले कर्मचारीहरूसँगको मिलेमतोमा धितोभन्दा बढी रकम ऋण प्रवाह गरेको आरोप छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले न्यौपानेसहित १० जनालाई मंगलबार पक्राउ गरेको थियो । उनीहरूलाई सात दिन हिरासतमा राख्न उच्च अदालत पाटनले अनुमति दिएको छ ।

तत्कालीन सेञ्चुरी बैंकको सीईओ हुँदा न्यौपानेसहितका व्यक्तिले ललितपुरको देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंलाई ऋण दिलाउनुभएको थियो ।

सेञ्चुरी कमर्सियल बैंक गत वर्ष प्रभु बैंकमा गाभिएको थियो । देउराली बहुउद्देश्यीय सहकारीको रकम ठगी प्रकरणमा पक्राउ पर्नुभएका चौलागाईं अहिले कारागारमा हुनुहुन्छ । उहाँसँग अनुसन्धानको सिलसिलामा ब्युरोले सेञ्चुरी बैंकको ऋण प्रवाहमा अनियमितता भएको पाइएको हो ।

चौलागाईंसमेतको लगानी रहेका चार वटा कम्पनीमा सेञ्चुरी बैंकले ऋण प्रवाह गरेको थियो । ती कम्पनी पूजा ट्रेडिङ एन्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ, पूजा मार्केटिङ र अन्नपूर्ण डिस्टीलरी रहेका छन् ।

ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार ती कम्पनीमा सेञ्चुरी बैंकले २ अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ ऋण प्रवाह गरेको थियो ।

धितो मूल्यांकनले १ अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ मात्र ऋण दिनुपर्नेमा न्यौपानेसहितका व्यक्तिले मिलेमतोमा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ बढी दिएको देखिएको छ ।

चौलागाईंले सहकारीका बचतकर्ताको दुई अर्ब बढी रकम ठगी गरेको पाइएको छ ।

चौलागाईंले बचतकर्ताले राखेको शतप्रतिशत रकम आफू र आफ्नो परिवारका सदस्यको नाममा जग्गा खरिदमा लगानी गरेको पाइएको छ । उहाँले राजधानीका विभिन्न स्थानमा ११० रोपनी जग्गा खरिद गरेको अनुसन्धानले देखाएको छ ।

बोगटीका अनुसार उहाँले खरिद गरेको तिनैमध्येको जग्गाहरू धितो राखेर सेञ्चुरी बैंकबाट ऋण लिनुभएको थियो ।

ऋण लिने क्रममा सीईओसँगै मिलेमतो गरेर करिब एक अर्ब रुपैयाँ धितोभन्दा बढी हात पारेको देखिएको छ ।

वीरगञ्ज महानगरपालिका-५ घर भई हाल ललितपुर-१० कुपन्डोल बस्ने न्यौपानेसहित पक्राउ पर्नेमा राजेश भण्डारी, दिलीप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान, तुलसी गौतम र सुनिल बस्नेत छन् ।