सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कांग्रेसको निर्णयले तनावमा प्रचण्ड

दैनिक नेपाल २०८० फागुन १६ गते ७:५६

काठमाडौं, १६ फागुन । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (माआवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सत्ता गठबन्धनका सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको महासमिति बैठकले गरेको निर्णयलाई लिएर तनावमा परेका छन् ।

माओवादीको केन्द्रको स्थायी कमिटी बैठक निरन्तर चलिरहेको छ । मंगलबारसमेत पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसेको थियो । बैठकमा सहभागी एक पदाधिकारीका अनुसार अगामी निर्वाचनमा गठबन्धन नगर्ने निष्कर्ष निकालेको सत्तारूढ दल कांग्रेसले आफ्नो महासमिति बैठकमा माओवादीको सशस्त्र जनयुद्ध नकारात्मक टिप्पणीसहितको दस्तावेज पारित गरेपछि अब के गर्ने भन्ने दाहाललाई अहिले नै गाह्रो परेको छ ।

‘कांग्रेस महासमिति बैठकमा आगामी निर्वाचनमा गठबन्धन नगर्ने र माओवादीको सशस्त्र जनयुद्ध नकारात्मक टिप्पणीसहितको दस्तावेज पारित भएको छ । सोही विषयलाई लिएर अध्यक्ष कमरेड चिन्तित हुनुहुन्छ । सत्तारूढ गठबन्धन त अहिले नै टुट्दैन तर आगामी निर्वाचनलाई लिएर उहाँ चिन्तित हुनुहुन्छ,’ ती नेताले भने ।

पार्टी अध्यक्ष दाहाल अहिले नै गठबन्धन फुट्नेगरी अगाडि बढ्न नसक्ने पनि उनले बताए । ‘आगामी दिनको राजनीति उहाँ अहिलेदेखि नै चिन्तत बनिरहनुभएको छ, त्यसैले अहिलेदेखि नै छलफल चलाइहरनु भएको छ,’ उनले भने ।

हालै प्रधानमन्त्री दाहालले कांग्रेसबाट माओवादीलाई पटकपटक धोका भएको स्मरण गरेका थिए । पार्टीको विधान सम्मेलनमै उनले कांग्रेसबाट धोका पाएको बताएका थिए । सोही कारण कांग्रेससँगको आगामी सहकार्य पनि माओवादीभित्र छलफल भइरहेको छ ।

माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकमा वर्तमान राष्ट्रिय परिस्थिति छलफल भएको बताए । त्यस्तै भर्खरै सम्पन्न कांग्रेसको महासमिति बैठकमा भएको छलफल र पारित गरेका विषय’bout पनि छलफल भएको बताउँदै उनले भने, ‘अध्यक्षले खासै कुरा राख्नुभएन । अब उहाँले बुधबार आफ्ना कुराहरू राख्नुहुन्छ होला ।’

सापकोटाले बैठकमा राष्ट्रियसभाको अध्यक्ष पद माओवादीले पाउनुपर्ने माग उठेको बताए । स्थायी कमिटीको बैठकमा धारणा राख्ने अधिकांश सदस्यले राष्ट्रिय सभा अध्यक्षको पदमा पार्टीको तर्फबाट अध्यक्ष दाहालले अडान राख्नुपर्ने सुझाव आएको उनले बताए । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित