
काठमाडौं, १५ फागुन । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको पहिलो खेलमा नेपाल पराजित भएको छ ।
मंगलबार घरेलु मैदानमा भएको खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको हो ।
नामिबियाले प्रस्तुत गरेको २ सय ७ रनको लक्ष्य पछ्याएको नेपाल एक बल बाँकी छदै १ सय ८६ रनमा अलआउट भयो ।
नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४७ र कप्तान रोहित पौडेलले ४२ रनको योगदान दिनुभयो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नामिबियाले निकोल लोफ्टी इटनको विश्व कीर्तिमानी शतकसँगै निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०६ रन बनायो ।
लोफ्टी इटनले १०१ रन बनाए । त्यस क्रममा उहाँले ३३ बलमाशतक पूरा गर्दै कुशलमल्लको कीर्तिमान टोड्नु भएको छ । मल्लले एसियाली खेलकुदमा मंगोलियाविरुद्ध ३४ बलमा शतक बनाएर सबैभन्दा कम बलमा १ सय रनको रेकर्ड बनाउनुभएको थियो ।
लोफ्टी इटनले ३३ बलमै शतक पूरा गर्ने क्रममा ११ चौका र ८ छक्का हान्नुभयो । मुलान क्रुगरले ५९ रन बनाउनुभयो भने माइकल भानलिंगेनले २० रन जोड्नुभयो ।
नेपालका लागि कप्तान रोहितकुमार पौडेलले २ विकेट लिनुभयो भने करण केसी र अविनाश बोहोराले एक/एक विकेट हात पार्नुभयो ।









प्रतिक्रिया