सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

खराब आचरणको आरोप लागेका दुई न्यायाधीश थपलिया र निरौला बर्खास्त

दैनिक नेपाल २०८० फागुन १४ गते ९:१९

काठमाडौं, १४ फागुन । न्यायपरिषद्को बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई बर्खास्त गर्ने निर्णय गरेको छ । आइतबार बसेको परिषद्को बैठकले दुई न्यायाधीशलाई बर्खास्त गर्ने निर्णय गरेको हो । त्यस्तै २ करोड घुस डिलको अडियो टेप प्रकरणमा मुछिएका न्यायाधीश राजकुमार कोइरालालाई भने निगरानीमा राख्दै परिषद्ले सचेत गराएको छ ।

बर्खास्तीमा परेका न्यायाधीश थपलिया भने पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग मिलेर मुद्दाको सेटिङ गर्ने आरोपमा जिम्मेवारी खोसिएको थियो । थपलियालाई उच्च अदालत सुर्खेतको जुम्ला इजलासबाट न्याय परिषद्मा तानिएको थियो । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले थपलियालाई न्याय परिषद्मा तान्ने टिप्पणी सदर गरेका थिए ।

न्याय परिषद्मा परेको उजुरीमा पनि थपलियाले झगडियासँग कुराकानी गरेको, रकमको मोलाहिजा गरेको र फैसला प्रभावित बनाएको उल्लेख थियो । ती उजुरीसँगै केही अडियो प्रमाण तथा कल डिटेल्स पनि समावेश गरिएको परिषद् स्रोतको दाबी थियो । न्याय परिषद् ऐन, २०७३ को दफा १७ अनुसार थपलियाको सम्बन्धमा परेको उजुरीमाथि छानबिन भई दफा १८ बमोजिम प्रारम्भिक छानबिन भएको थियो ।

कारबाही गर्नुपूर्व न्यायपरिषद्ले उनलाई सफाइ पेस गर्न अन्तिम मौकास्वरूप स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनको स्पष्टीकरण चित्त बुझ्दो नभएपछि आइतबारको न्याय परिषद् बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित