१६ असार २०८३, मंगलबार

वाफ महिला च्याम्पियनसिप : समूह विजेता बन्दै नेपाल सेमिफाइनलमा

2.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ फागुन । साउदी अरेबियामा जारी वाफ महिला च्याम्प्यिनसिप फुटबलमा नेपाली महिला टोली समूह विजेता बन्दै सेमिफाइनलमा स्थान पक्का गर्न सफल भएको छ ।

एक खेल अगावै सेमिफाइनलमा पुगेको नेपालले शनिबार राति भएको खेलमा प्यालेस्टाइनलाई ४–० गोल अन्तरले पराजित गर्दै समूह विजेता बनेको हो ।

पराजित भएको प्यालेस्टाइन उप विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गर्‍यो ।

समूह चरणको अन्तिम खेलमा नेपाललाई जित दिलाउन नेपाली गोल मसिन सावित्रा भण्डारी ‘साम्बा’ले दुई गोल गर्दा रेखा पौडेल र गिता रानाले समान एक/एक गोल गरे ।

खेलको ४२ औं मिनेटमा सावित्राले रेखा पौडेलको पासमा गोल गर्दै अग्रता दिलाइन् । पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा तीन गोल थपेको थियो ।

६० औं मिनेटमा सावित्राले प्रहार गरेको बल पोस्टमा लागेर फर्किँदा अनमार्क रहेकी रेखाले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् ।

७९ औं मिनेटमा रश्मी घिसिङको पासमा सावित्राले व्यक्तिगत दोस्रो गोल गरेपछि नेपाल ३–० ले अघि बढेको थियो ।

दोस्रो हाफको अतिरिक्त समयमा नेपालले पेनाल्टी पाएको थियो । सावित्रालाई प्यालेस्टाइन खेलाडीले लडाएपछि पाएको पेनाल्टीलाई गिता रानाले गोलमा परिणत गरेपछि अन्ततः नेपाल ४–० को सहज जित निकाल्दै समूह विजेता बनेको हो ।

नेपालले सेमिफाइनलमा लेबनानसँग खेल्दा प्यालेस्टाइनले जोर्डनसँग प्रतिस्पर्धा गर्ने छ ।