सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

कांग्रेस महासमित बैठकः थापाको पारित प्रतिवेदनले गठबन्धन संकटमा ?

दैनिक नेपाल २०८० फागुन ११ गते ७:३३

काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले महासमिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदन सर्वसम्मतले पारित भएको छ । निर्वाचनअघि गठबन्धन नगर्ने र कांग्रेसका मतदाताले रूख चिह्नमा भोट हाल्न पाउने सुनिश्चितता गर्दै महामन्त्री थापाले महासमिति बैठकमा प्रतिवेदन पेस गरेका थिए ।

सुरुमा सभापति शेरबहादुर देउवाले महामन्त्री थापाको प्रतिवेदनमा भएको सो वाक्यांश हटाएर महासमिति बैठकमा पेस गर्न भनेका थिए । सो विषयले गठबन्धनमा उत्तारचढाव आउने र आफ्नो प्रधानमन्त्री बन्ने भविष्य नै खतरामा पर्नसक्ने संकेतका रूपमा बुझेका देउवाले त्यसपछि बूढानीलकण्ठमा पदाधिकारी बैठकसमेत राखेका थिए ।

महामन्त्री थापा सो प्रतिवेदन महासमिति बैठकमा पेस गर्ने, बरू त्यही समितिबाट पारित नभए आफूले मान्ने भन्दै टसमस नभएपछि अन्तिम समयमा सभापति देउवाले सहमति जनाएका थिए । त्यसपछि ८ फागुनमा महामन्त्री थापाले सांगठनिक प्रस्ताव पेस गरेका थिए । ७ फागुनदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकले चुनावी गठबन्धन नगर्ने महामन्त्री थापाको प्रस्ताव पारित गरेको हो ।

थापाले प्रस्तावमा भनेका छन्, ‘हामी भविष्यमा हुने आवधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्नेछौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रूखमै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’ थापाको सो प्रस्ताव महासमितिको बैठकले पारित गरेको हो । यससँगै उपसभापति पूर्णबहादुर खड्काको नीति प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पनि पारित भएका छन् । लेखा समिति संयोजक श्याम घिमिरेले पेस गरेको लेखापरीक्षण प्रतिवेदनसमेत सर्वसम्मतिले पारित भएको छ ।

कांग्रेस महासमिति बैठकले आगामी दिनमा गठबन्धन नगर्ने प्रस्ताव पारित गरेसँगै सत्ता गठबन्धनको सत्ता साझेदारी दल नेकपा (माओवादी) केन्द्रलाई उकुसमुकुस भएको छ । माओवादीका नेताहरूले सामाजिक सञ्जालमा लेखेको स्टाटसले पनि कांगे्रसले पारित गरेको सो प्रस्तावका कारण आक्रोश पोख्नेक्रम जारी छ । महामन्त्री थापाको प्रस्तावमा छलफल सुरु भएलगत्तै प्रधानमन्त्री एवं नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट माओवादी युवा नेता रामप्रसाद सापकोटा ‘दीपशिखा’ले बुधबार फेसबुकमा स्टाटस लेख्दै कांग्रेसलाई चेतावनी दिएका थिए । ‘गोदावरीतिर चुमुकचुमुक गरिरहेका साथीहरूले बेलैमा बुझून्, हाम्रो काँध चढेर तिम्रो कद उँचो भएको हो, छाडेको दिन पुड्को हुनुपर्छ,’ सापकोटाले लेखेका थिए । त्यसपछि माओवादी अध्यक्षनिकट नेताहरूले एकपछि अर्को गर्दै कांग्रेसविरुद्ध अभिव्यक्ति दिइरहेका छन् ।

त्यसो त यसअघि माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि कोशी प्रदेशको निर्वाचनबाट आएको नतिजापछि आक्रोश पोखेका थिए । ‘कांग्रेसले सुरुबाटै हामीलाई धोका दिएको छ, हामी ५४ सिटबाट ३२ मा झर्‍यौं, हामीले इमानदारितापूर्वक कांग्रेसलाई भोट दियौं, तर उनीहरूले दिएनन्,’ माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले भनेका थिए, ‘कोशी प्रदेशमा हामीले मुख्यमन्त्री, सभामुख र राष्ट्रिय सभा सदस्य पनि गुमाउनुपर्‍यो, कोशीकै कमरेडहरूले पनि कांग्रेससँगको गठबन्धनले हामीलाई राजनीतिक फाइदा छैन भन्नुभएको छ, राजनीतिक रूपमा हेर्ने हो भने पनि कांग्रेसले प्रधानमन्त्री बनाएको होइन, यसैले पटक–पटक धोका दिँदै आएको कांग्रेससँगको सहकार्य माओवादीका लागि विचारणीय प्रश्न हो ।’

यसअघि माओवादीको केन्द्रीय समिति बैठकमा पनि प्रचण्डले माओवादी पार्टी एक्लै निर्वाचन लड्नेगरी तयारी गर्नुपर्ने आशय व्यक्त गरेका थिए । उनले यसो भन्नुमा कांग्रेसले अबको गठबन्धनमा आफूहरूलाई साथ दिँदैन भन्ने अड्कलकै कारण एक्लै निर्वाचन लड्ने अभिव्यक्ति दिएका हुन् ।

कांग्रेसले २०८४ सालको निर्वाचनमा गठबन्धन नगर्ने महासमिति बैठकबाट पारित भएसँगै प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् । विकसित राजनीतिक घटनाक्रमलाई हेर्दै प्रचण्डले एमाले अध्यक्षसँग सहकार्यको सम्भावना खोजे पनि ओली भने अहिले नै माओवादीसँग गठबन्धन गरेर जान तयार छैनन् । प्रचण्डको फेरिइरहने चरित्रका कारण एमाले अध्यक्ष ओली सोचमग्न छन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित