२१ असार २०८३, आइतबार

गठबन्धन जतिबेला आवश्यक पर्छ त्यतिबेला प्रयोग गर्ने रणनीति हो : चन्द्र भण्डारी

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले दलीय गठबन्धन कुनै सिद्धान्त नभएर रणनीति भएकाले आवश्यक परेको बेला प्रयोग गर्ने माध्यम रहेको बताउनुभएको छ  ।

ललितपुरमा जारी पार्टीको महासमिति बैठकस्थलमा बुधबार सञ्चारकर्मीहरुसँग उहाँले सरकारमा बसेर जनतालाई राम्रो काम गरेर देखाउनुपर्ने बेलामा आगामी चुनावमा गठबन्धन गर्ने कि नगर्ने भनेर अल्झिने अवस्था नरहेको बताउनुभयो ।

मंगलबार बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनमा दलीय गठबन्धनलाई निरन्तरता दिने/नदिनेमा पार्टीले पुनर्विचार गर्नुपर्ने भनाइ राख्नुभएको थियो । परिस्थितिअनुसार सत्ता गठनका लागि गठबन्धन आवश्यक भए पनि निर्वाचन दलले आफैं एक्लै लड्नु उपयुक्त हुने उहाँको भनाइ थियो । उहाँको प्रतिवेदनपछि पार्टीमा गठबन्धनको विषय बहसमा छ ।

नेता भण्डारीले वर्तमान सत्ता गठबन्धन समयको आवश्यकता भएको जिकिर गर्नुभएको छ । ‘गठबन्धनका कुराहरु सिद्धान्त होइन, रणनीति हुन् । रणनीति जतिबेला पनि गर्नुपर्छ भन्ने छैन । जतिबेला आवश्यक पर्छ त्यतिबेला प्रयोग गर्ने हो,’ उहाँले भन्नुभयो, ‘अहिले उहाँहरु सरकारमा बसेर जनतालाई राम्रो काम गरेर देखाउनुपर्ने बेला हो, त्यसैले गठबन्धन गर्ने कि नगर्ने भनेर अल्झिने बेला होइन । गठबन्धन गरेर आयौं, जनतामाझ कांग्रेसलाई मजबुत बनाउनुपर्‍यो । चुनावमा एक्लै लड्ने बनाउनुपर्‍यो, त्यो ४ वर्ष पछिको कुरा हो त्यसमा अल्झिनपर्ने केही छैन ।’

उहाँले वैदेशिक रोजगार अहिले चूनौतीपूर्ण बन्दै गएको भन्दै सरकारले त्यसतर्फ गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताउनुभयो । ‘अहिले हामी चलेको बाटोले युवायुवती नेपाल नै नबस्ने भए नि । यो कति ठूलो चुनौती छ । यो चुनौतीलाई हामीले रोक्न पर्‍यो नि,’ उहाँले भन्नुभयो ।