३० असार २०८३, मंगलबार

श्रम कानुनमा लेखिएको कुरा माग्ने होइन श्रमिकले स्वतः पाउनुपर्दछ : अध्यक्ष श्रेष्ठ

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ फागुन । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) का अध्यक्ष विनोद श्रेष्ठले श्रम कानुनमा लेखिएको कुरा श्रमिकले स्वतः पाउनुपर्नेमा माग गर्दासमेत नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

एफएनभी परियोजना अन्तर्गतको स्थानीय सरकार, प्रदेश सरकार, रोजगारदाता तथा श्रमिकहरु बीच मंगलबार यूनिट्राभले काठमाडौंको होटेल ठमेल पार्कमा आयोजना गरेको त्रिपक्षीय अन्तक्रियामा अध्यक्ष श्रेष्ठले श्रम क्षेत्रमा धेरै परिवर्तन भएपनि श्रमिकहरु पीडा खेप्न बाध्य हुँदा दुःखद अवस्था बनिरहेको बताउनुभयो । श्रम क्षेत्र एकपछि अर्को गर्दै पीडादायी बन्दै जाँदा अब नयाँ शिराबाट अगाडि बढ्नुपर्ने स्थिति देखिएको उहाँले बताउनुभयो ।

अध्यक्ष श्रेष्ठले जलवायु परिवर्तनबाट श्रमिकको रोजगारीमा परेको असर न्युनिकरणका साथै सबै माउटेन गाइड, ट्रेकिङ गाइड, टुर गाइड, र्‍याफ्टिङ गाइड, पर्यटन सहयोगी श्रमिकलाई सामाजिक सुरक्षा सूचिकरणको लागि सबै कम्पनीले अनिवार्य दर्ता गर्नुपर्ने भनाइ राख्नुभयो ।

अन्तक्रियामा एफएनभी मोन्डियालका दक्षिण एसिया संयोजक प्रभु तथा सिस्टर मरियान, पर्यटन विभाग, पर्यटन बोर्ड, हान, टान, एनएमए, जिफन्ट, सामाजिक सुरक्षा बोर्ड लगायतका प्रमुख, पदाधिकारी एवं सदस्यहरुबीच श्रम क्षेत्रमा सुमधुर सम्बन्ध कायम गर्नेबारे छलफल भएको थियो ।

अन्तक्रियामा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा कोषको परिभाषा, औचित्य र यसबाट पाईने सुविधाहरुको बारेमा सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा जिफन्टका महासचिव लक्ष्मण शर्मा, टानका अध्यक्ष निलहरि बाँस्तोला, नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरराज पाण्डे, जिफन्ट बागमती प्रदेश अध्यक्ष रामहरि नेपाल, पर्यटन बोर्डका प्रतिनिधिले श्रमिकलाई उचित पारिश्रमिक, सामाजिक सुरक्षा व्यवसायजन्य स्वास्थ्य सुरक्षा लगायतमा ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले थुप्रैपटक हिमाल आरोहण गरेका माउन्टेन गाइडहरुको सुरक्षा नहुँदा अन्तर्राष्ट्रिय स्तरमा लज्जास्पद अवस्था बन्न पुगेको बताउनुभयो ।

५०० जना पर्यटकीय श्रमिकहरुबीच यूनिट्राभ पुगेको जानकारी दिँदै उहाँले यस कार्यक्रमले पोर्टर गाईड, र्याफ्टिङ गाईड र माउन्टेन गाईडहरुलाई संगठित गराउन सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा एफएनभीका प्रतिनिधि सिष्टर मरियन र ब्रदर प्रभुले माउटेन गाइड ट्रेकिङ गाइड, सहयोगी गाइडका समस्या समाधानका उपायबारे विभिन्न भनाइ राख्नुभएको थियो । यूनिट्राभका महासचिव रामबहादुर श्रेष्ठले पर्यटन श्रमिकको सुरक्षाबारे सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।