
काठमाडौं, ९ फागुन । क्रिकेटर सन्दीप लामिछानेले दोस्रो पटक लाइपोमाको शल्यक्रिया गराएका छन् ।
मंगलबार काठमाडौंको सिल्भरलाइन अस्पतालमा उनको शल्यक्रिया भएको बताइएको छ ।
शरीरका विभिन्न अंगमा रहेका ७ वटा गाँठाहरू हटाइएको स्रोतले जानकारी दिएको छ । यो शल्यक्रिया उनको दोस्रो पटक हो ।
गत वर्ष सन्दीपले पहिलो पटक लाइपोमाको शल्यक्रिया गराएका थिए ।
पहिल्यैदेखि समस्या भोग्दै आए पनि क्रिकेटमा व्यस्तताले गर्दा सन्दीपले शल्यक्रिया गराउन भ्याएका थिएनन् ।
जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएपछि सन्दीप राष्ट्रिय क्रिकेट टिमबाट अलग छन् । जिल्ला अदालत काठमाडौंले पुस १३ गते सन्दीपमाथिको बलात्कार मुद्दामा उनलाई दोषी ठहर गरेको थियो ।
अदालतको फैसलापछि उनी अहिले क्रिकेटभन्दा बाहिर छन् । जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालतमा पुनरावेदन गर्ने सन्दीपको तयारी छ ।








प्रतिक्रिया