१० असार २०८३, बुधबार

१२ निर्वाचन क्षेत्रका महाधिवेशन प्रतिनिधिलाई महासमितिमा सहभागी गराउने कांग्रेसको निर्णय

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसले महासमिति सदस्यको निर्वाचन हुन नसकेका १२ निर्वाचन क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिहरूलाई यसपटकको महासमिति बैठकमा सहभागी गराउने भएको छ ।

बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बिहान बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विवादका कारण महासमिति सदस्यको निर्वाचन हुन नसकेका ती क्षेत्रका सबै महाधिवेशन प्रतिनिधिहरूलाई आमन्त्रिण सदस्यकारुपमा सहभागी गराउने निर्णय गरेको हो ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकले नेतृत्व परिवर्तन भएका भ्रातृ संघ र शुभेच्छुक संस्थाहरुबाट पनि अध्यक्षसहित तीन जना महासमिति सदस्यको रुपमा सहभागी गराउने निर्णय भएको छ ।

बैठकले बारा क्षेत्र नं. ३, पर्सा क्षेत्र नं. १, सोलुखुम्बु, खोटाङ, धादिङ क्षेत्र नं. १, दोलखा, ओखलढुंगा, काठमाडौं क्षेत्र नं. ५, दाङ क्षेत्र नं. ३, कञ्चनपुर क्षेत्र नं. १, बाग्लुङ क्षेत्र नंं. २ र सिन्धुली क्षेत्र नं. २ का सबै महाधिवेशन प्रतिनिधिहरूलाई महासमिति बैठकमा आमन्त्रित गर्ने निर्णय गरेको हो ।

त्यस्तै, नेतृत्व परिवर्तन भएका नेपाल विद्यार्थी संघ, नेपाल महिला संघ, नेपाल तरुण दल, नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ, नेपाल लोकतान्त्रिक खेलकूल संघ, नेपाल किसान महासंघ, नेपाल थारु संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ र नेपाल मुस्लिम संघबाट अध्यक्षसहित तीन जनालाई महासमिति बैठकमा सहभागी गराउने निर्णय गरेको छ ।

त्यस्तै, शुभेच्छुक संस्थाहरू नेपाल ट्रेड यूनियन कांग्रेस, नेपाल शिक्षक संघ, नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन, सेन्टर फर डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, प्रजातन्त्रबादी चिकित्सक संघ र नेपाल प्रेस यूनियनबाट पनि अध्यक्षसहित तीन जनालाई महासमिति बैठकमा सहभागी गराउने निर्णय गरेको छ ।