२६ कार्तिक २०८३, बिहिबार

मौसममा बदली बिहीबारसम्म रहने

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । पुनः मौसम बदली भएको छ । गए रातिदेखि पश्चिमबाट सुरु भएको मौसम बदली देशभर फैलने क्रममा रहेको छ । यो क्रम बिहीबारसम्म जारी रहने र शुक्रबारबाट पश्चिम क्षेत्र हुँदै क्रमशः सुधार हुँदै जाने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहशाखाका मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । उहाँले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम बदली भइसकेको र केही स्थानमा छिटफुटदेखि हल्का तथा मध्यम वर्षा सुरु भएको जानकारी दिनुभयो ।

काठमाडौँ उपत्यकामा बादल लाग्न थालिसकेको पनि उहाँले बताउनुभयो । बिहीबार भने काठमाडौंमा वर्षाको सम्भावना रहेको र त्यसअघि भने फाट्टफुट्ट हुनसक्ने पनि उहाँले जानकारी दिनुभयो । विस्तारै मौसम बदली पश्चिमबाट पूर्व सरिहेको छ ।

विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहेको छ । तराइका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ ।

आगामी २४ घण्टाका देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना र देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले आज जानकारी गराएको छ ।

“यस प्रणालीका कारण हुने वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात असर पर्न सक्ने देखिएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ”, विभागले आज जारी गरेको बुलेटिनमा उल्लेख छ ।