१ असार २०८३, सोमबार

कांग्रेस महासमिति बैठक : बन्दसत्र आजदेखि

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत आजदेखि बन्दसत्र सुरू हुँदैछ । सोमबार सभापति शेरबहादुर देउवाले उद्घाटन गरेपनि बैठकमा प्रस्तुत हुने प्रतिवेदनहरूमाथि सहमति नजुट्दा मंगलबार बिहानसम्म बैठक अघि बढेको छैन ।

केन्द्रीय पदाधिकारीहरूले बैठकमा प्रस्तुत गर्नुपर्ने प्रस्तावहरू नै प्रतिनिधिहरूसमक्ष पुगिसकेको छैन ।

खासगरी महामन्त्री गगन थापाले प्रस्तुत गर्ने सांगठनिक प्रस्तावमा नै पार्टीका पदाधिकारीहरूबीच मतभेद भएपछि सोमबार रातिसम्म शीर्ष नेताहरूको दौडधुप चल्यो । उद्घाटनसत्र लगत्तै सभापति देउवाको निवासमा करिब पाँच घण्टा निरन्तर छलफलपछि मंगलबार हलमा प्रस्तावहरू पेश गर्ने भन्ने सहमतिको वातावरण बनेको छ ।

कार्यसूचीअनुसार मंगलबार बिहान ९ बजेदेखि बन्द सत्र सुरू हुनेछ ।

बन्दसत्रमा उपसभापति पूर्ण बहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक र अर्थमन्त्री एवम् पार्टीका प्रवक्ता प्रकाशशरण महतले मुलुकको आर्थिक अवस्थाबारेको प्रस्ताव पेश गर्नुहुनेछ । त्यसपछि ती प्रस्तावहरूमाथि समूहगतरुपमा छलफल हुनेछ ।

सोमबार उद्घाटन सत्र समापन हुँदासम्म पनि महासमितिमा पेश गर्ने प्रस्तावमा सहमति जुटेको थिएन । त्यसपछि बल्ल शीर्ष नेताहरू छलफलमा जुटेका थिए ।

महामन्त्री थापाले आफ्नो सांगठनिक प्रस्तावमा ‘०७९ को चुनावमा गठबन्धन गर्नु हाम्रो बाध्यता थियो, तर नेपाली कांग्रेस दृढ संकल्प गर्छ कि हामी आगामी चुनावहरू हाम्रो आफ्नै तागतमा एक्लै लड्ने छौं, र हाम्रा समर्थक–शुभेच्छुकलाई रूख चिह्नमा मात्रै मत हाल्न पाउने सुनिश्चित गर्नेछौं’ भन्ने उल्लेख गरेपछि त्यही विषयमा सभापति देउवासहित उहाँपक्षीय पदाधिकारीहरूले आपत्ति जनाउनुभएको थियो ।

प्रस्तावमै त्यो विषय आउन नदिन संस्थापन पक्षले दबाब बढाएपनि अन्ततः महासमिति बैठकमा यो विषय प्रस्तावकारुपमा पेश गर्न सभापति देउवा तयार हुनुभएको छ । अहिले नै गठबन्धन नगर्ने भन्ने लेखेर अघि बढ्दा वर्तमान सत्ता गठबन्धनमा खटपट हुन सक्ने भन्दै सभापति देउवा सशंकित मात्रै हुनुभएन, सोमबार साँझ नै प्रधानमन्त्रीको सरकारी निवास पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्नुभयो ।

उपसभापति एवम् उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई साथ लिएर बालुवाटार पुग्नुभएका देउवाले प्रधानमन्त्री दाहाललाई पार्टीभित्र अफ्ठ्यारो परेको भन्दै दस्तावेजमा आउने विषयबाट सशंकित नहुन भन्दै आश्वस्त पार्नुभएको थियो ।

महामन्त्री थापाले ल्याएको प्रस्तावमा सहमहामन्त्री महालक्ष्मी उपाध्याय, अर्का सहमहामन्त्री भीष्मराज आङ्देम्बे, पूर्वसभापति गोपालमान श्रेष्ठसहित देउवा पक्षकै नेताहरूले पनि सहमति जनाउनुभएको थियो ।

महासमिति बैठक आगामी बिहीबारसम्म चल्नेछ ।