आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

डोटीमा ७१ वर्षका वृद्धले गरे प्रेमलाई विवाहमा परिणत

दैनिक नेपाल २०८० फागुन ८ गते ६:१५

काठमाडौं, ८ फागुन । डोटीको जोरायल गाउँपालिका-५ भाम गाउँका ७१ वर्षीय वृद्धले आफ्नो प्रेमलाई विवाहमा परिणत गरेका छन् ।

स्थानीय ठक्कर बहादुर खडायतले ७१ वर्षको उमेरमा श्रीमतीको सिउँदो भरेका हुन् । उनले ६३ वर्षीया कुमारी भाटको सिउँदो भरेका छन् ।

उक्त दम्पतीका तीन छोरी र एक छोरा छन् । भाटको माइती सुर्खेत हो । धेरै पहिले खडायत र भाटले लामो प्रेम सम्बन्ध सँगै बिताए । उनीहरूबाट सन्तानसमेत भए । श्रीमतीको रूपमा घर भित्र्याएकी भाटको खडायतले सिउँदो भने भरेका थिएनन् ।

जोरायल-५ गड्सेरास्थित ज्यूनेबस्तास्थित वैयाल परिवारले सप्ताह महायज्ञको आयोजना गरेको छ । सोही समारोहमा उक्त दम्पती वैवाहिक सूत्रमा बाँधिएको सप्ताह आयोजक समितिका सदस्यसमेत रहेका मुकुन्द भण्डारीले बताए ।

खडायतका सखा ८१ वर्षीय डिल्लीराज भण्डारी आफ्नो बाल सखाको बिहेमा बुढेसकालमा सहभागी हुन पाउँदा खुसी छन् । उनले यो विवाह नौलो लागेको र रमाइलो पनि लागेको बताए । विवाहमा बेहुला-बेहुलीका पनातिसमेत सहभागी थिए । खडायत पडरे देउताका भणारेसमेत हुन् ।

सोही सप्ताहमा चार वटा व्रतबन्ध, तीन वटा कपाल मण्डन, पास्नी कार्यक्रमसमेत सम्पन्न भएका छन् । महायज्ञका पुजारी शर्मानन्द ओझाले उक्त दम्पतीको विवाह सम्पन्न गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित