
चितवन, ६ फागुन । मुद्रण संघ चितवनले यहाँका दुई जना मुद्रण व्यवसायीलाई सम्मान गरेको छ ।
हालै सम्पन्न नेपाल मुद्रण उद्योग महासंघको ५ औं महाधिवेशनमा चितवनबाट प्रतिनिधित्व गर्नुहुने सिटीपी हाउस चितवनका सञ्चालक मनोज जिसी दितीय उपाध्यक्षमा र क्वालीटी प्रेसका सञ्चालक अर्जुन सापकोटा महासचिव पदमा निर्वाचित भएपछि संघले शनिबार एक कार्यक्रमकाबीच सम्मान गरेको हो । सम्मानित भएपछि उहाँहरुले व्यवसायीको हकहितमा दत्तचित्त भएर लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै महासंघका निर्वमान अध्यक्ष खुमकान्त रेग्मीले आफ्नो कार्यकालमा महासंघलाई अगाडी बढाउनका लागि उल्लेख्य कामहरु गरेको बताउनुभयो । महासंघलाई देशभर विस्तार गर्नुका साथै अन्तराष्ट्रिय स्तरमा समेत सदस्यता लिन आफ्नो कार्यकालमा महत्वपूर्ण भुमिका रहेको उहाँको भनाई थियो । उहाँले करिब रु।४५ अरब लगानी रहेको मुद्रण व्यवसायले दुई लाख भन्दा बढीलाई रोजगारी दिन सफल भएकोमा ५ लाख मानिस यसमा प्रत्यक्ष आश्रित रहेको बताउनुभयो ।
कार्यक्रममा चितवन उद्योग संघको अध्यक्ष सूर्य प्रसाद न्यौपानेले व्यवसायीहरु संगठित भई एक आसपसमा सहकार्य गरेर जानुपर्ने बताउनुभयो । उद्योग वाणिज्य संघ चितवनका प्रथम उपाध्यक्ष राजेन्द्र ओलीले वर्तमान अवस्थामा व्यवसाय संचालन गर्न निकै चुनौती थपिएको भन्दै मुद्रण व्यवसायलगायतका व्यवसायहरुमा दक्ष कामदारहको समेत अभाव रहेको बताउनुभयो । विभिन्न संघ संस्थाहरुबिचमा सहकार्य गरी नेपाली कामदारलाई दक्ष बनाउनका लागि तालिमको आवश्यकता रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा कुमार छापाखानाका सञ्चालक विनय कुमार श्रेष्ठले मुद्रण संघको विगतदेखि वर्तमान सम्मको अवस्थाको बारेमा स्मरण गर्नुभएको थियो । मुद्रण संघ चितवनका अध्यक्ष सन्दिप सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका विभिन्न मुद्रण व्यवसायसँग सम्वन्धित व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।









प्रतिक्रिया