७ असार २०८३, आइतबार

चौदण्डीगढी-९ नम्बर वडा कार्यालयको जेष्ठ नागरिक सम्मान, खुशीले दिए आशीर्वाद

854
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अन्जनी कुमार अधिकारी, उदयपुर, ६ फागुन । उदयपुरको चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ले आफ्ना वडा भित्रका जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।

शनिबार वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर वडाले जेष्ठ नागरिकलाई सम्मान गरेको हो । चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ले हरेक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएको छ ।

नगरपालिकाका नगर प्रमुख कालुमान लामा, उपप्रमुख मणिकादेवी दुलाल, पुर्व प्रदेश सांसद बिमल कार्की, स्थानीय नेता बाबुराम पौडेल, कार्यपालिका सदस्य, वडा सदस्य लगायतको उपस्थितिमा जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै नगर प्रमुख कालुमान लामाले चौदण्डीगढी नगरपालिका नगर भित्रका जेष्ठ नागरिकको स्वास्थ्य र सुरक्षामा संवेदनशील भएर लागिरहेको बताउनुभयो ।

नगर प्रमुख लामाले नगर भित्रका जेष्ठ सदस्यहरु नगरपालिकाको बुवाआमा भएको भन्दै नगरपालिका छोरा रहेकोले सबै कुरा बुवाआमाको इच्छा अनुसार हुने बताउनुभयो । उहाँले नगरका बुवाआमा (जेष्ठ नागरिक)ले नगर भित्र वारीपारीको समस्या रहेको बुझेकोले आफू वरिपरिको समस्या समाधान गर्न लागि परेको जिकिर गर्नुभयो ।

उहाँले जेष्ठ नागरिकको समस्यालाई सम्बोधन गर्दै अब केही समय पछी उपचारका लागि नगर बाहिर जानु नपर्ने गरी नगर अस्पताललाई सुविधा युक्त बनाउँदै लगिने दावी गर्नुभयो ।

वडा अध्यक्ष प्रकाश राउतले वडाले हरेक वर्ष वडा भित्रका जेष्ठ नागरिकको सम्मान गर्दै आएको र उहाँहरुको आशीर्वादले आफ्नो वडा भौतिक पूर्वाधार, शैक्षिक सुधार, स्वास्थ्य सुधार गर्न अन्य वडा भन्दा अगाडी रहेको भन्दै आफू जनप्रतिनिधि रहुन्जेल आफ्ना वडा भित्रका जेष्ठ नागरिक बुवाआमाको सम्मान गरिरहने बताउनुभयो ।

कार्यक्रमा शुभकामना मन्तव्य राख्दै नगर उपप्रमुख मणिकादेवी दुलालले अग्रजको सम्मान गर्न पाउँदा आफूहरु अत्यन्तै हर्षित भएको बताउनुभयो ।

वडा कार्यालयले दोसल्ला ओढाएर, फलफुल खुवाएर जेष्ठ नागरिकको सम्मान गरेको थियो भने पुरुष तर्फ र महिला तर्फ वडाकै जेष्ठ नागरिकलाई भने सम्मान पत्र समेतले सम्मान गरेको थियो । वडाले हरेक वर्ष जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै आएपछी वडा भित्रका जेष्ठ नागरिकहरुले हर्षित हुँदै जनप्रतिनिधिलाई खुशीले आशीर्वाद दिएका थिए ।

चौदण्डीगढी नगरपालिका वडा नम्बर ९ ले हरेक वर्ष जेष्ठ नागरिकलाई यसरी नै सम्मान गर्ने देखि तिर्थयात्रामा लैजाने लगायतका कार्य गर्दै आएको छ ।