सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

मलेसियामा उपचार नपाएर छट्पटिँदै नेपाली

दैनिक नेपाल २०८० फागुन ६ गते ८:०८

काठमाडौं, ६ फागुन । काभ्रेपलाञ्चोक जिल्ला, महाभारत गाउँपालिका–४ सिमल्टारका सुनिल लामा गत ११ फेब्रुअरीमा सडक दुर्घटनामा परे । मलेसियाको जेरनटुट, पहास्थित इकोन सेभ क्यास एन्ड क्यारी कम्पनीमा कार्यरत रहेको र बिदाको दिन बाहिर निस्किएका थिए ।

त्यस क्रममा सडक दुर्घटनामा परेर दाहिने हात गुमाए । हाल उनी मलेसियाको सुल्तान हाजी हस्पिटलमा उपचार गरिरहेका छन् । तर, दुर्घटनामा परेर हात गुमाएपछि अस्पताल भर्ना भएका उनलाई कम्पनीले उपचार नगर्ने भयो ।

कम्पनीभन्दा बाहिर भएको घटना भनेर उनी कार्यरत कम्पनीले बिमासमेत दाबी नगरिदिँदा उनको उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोगको अपिल गरिएको छ । उनको उपचारका लागि ठूलो धनराशि खर्च हुने र उपचारमा सहयोग गरिदिन देशविदेशमा रहने सबैमा अनुरोध गरेका छन् ।

यस्तै, मलेसियामा प्यारालाइसिस रोगले थालिएका रोल्पाका मनोज रानाले पनि आर्थिक सहयोग गरी आफूलाई नेपाल फर्काउन अनुरोध गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक भिडियो सन्देश जारी गर्दै रानाले आफू अहिले मलेसियामा प्यारालाइसिस भएर हात खुट्टा नचल्ने र मुखको पनि समस्या रहेको र शरीरको आधा भाग पूरै प्यारालाइसिस भएको भन्दै आर्थिक सहयोगको अपिल गरेका छन् ।

आफू कार्यरत कम्पनीले पनि कुनै वास्ता नगरेको उनले बताएका छन् । कम्पनीलाई घर पठाउभन्दा ५ हजार रिंगेट दिए मात्र पठाउने भनेको तर आफूसँग पाँच रिंगेट पनि नरहेको उनले बताए । कम्पनी र नेपाली दूतावासले वास्ता नगर्दा उपचार हुन नसकेको र घर फर्कन पनि आर्थिक अभाव भएकाले सबैले सहयोग गरिदिन अनुरोध गरेका छन् ।

मलेसियाका कतिपय रोजगारदाता कम्पनीहरूले ड्युटीको समय वा बिदाको दिनमा घुम्न बाहिर निस्किएर कुनै दुर्घटनामा परे उपचार नगर्ने गरेको कारण त्यहाँ कार्यरत धेरै नेपालीहरूले कम्पनीले उपचार नगरेको भन्दै आर्थिक सहयोग माग्ने गरेका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित