१० असार २०८३, बुधबार

भूतपूर्व गोर्खा सैनिकका सन्तानलाई ठगी गरेको आरोपमा राजु थापाविरुद्ध पक्राउ पुर्जी जारी

6.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ फागुन । भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा ठगी गरेको आरोपमा बेलायतमा रहेका कानून व्यवसायी राजु थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

बेलायतको लण्डनस्थित ब्रोडवे इलिङस्थित सेन्ट्रल च्याम्बर कार्यालयमा एभरेष्ट ल सोलिसिटर्स नामक कम्पनी सञ्चालन गर्दै आउनुभएका थापाविरुद्ध काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गरेको हो ।

बेलायतमा रहेका थापाविरुद्ध करोडौं ठगी गरेको अभियोग रहेको छ । भिसा लगाइदिने नाममा करोडौं ठगी गरेको तथ्य भेटिएपछि थापालाई पक्राउ गरी अनुसन्धान गर्न अदालतले पुर्जी जारी गरेको हो । जिल्ला अदालत काठमाडौंले बेलायतमा बसेर ठगी गर्ने राजु थापासँगै उहाँका नेपाली साझेदार समी काछी रोजी श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

‘फरार प्रतिवादीहरु राजु थापा र समी काछी रोजी श्रेष्ठका नाममा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५७ कमोजिम पक्राउ पुर्जी जारी गरी पक्राउ परी आए वा आफै हाजिर हुन आए बयानका लागि इजलाशसमक्ष पेश गर्नु, पक्राउ परी नआए वा म्यादभित्र आफै हाजिर हुन पनि नआए ऐ. संहिताको दफा १५ र ६५ बमोजिमका निजका विवरण जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमार्फत झिकाई रोक्का राखी नियमानुसार गरी पेश गर्नु,’ जिल्ला अदालत काठमाडौंले जारी गरेको पक्राउ पुर्जीमा भनिएको छ । अदालतले फागुन २ गते थापा र श्रेष्ठको नाममा पक्राउ पुर्जी जारी गरेको हो ।

बेलायतमा रहेर कानून सेवा दिने नाममा भूतपूर्व गोर्खा सैनिकका परिवारलाई ठग्दै आएको प्रमाण अदालतमा पेश भएपछि पुर्जी जारी गरिएको हो । थापाले आफ्नो धन्दाको उजागर हुने भएपछि नेपालमा रहेका बिचौलिया लगाएर भूतपूर्व गोर्खा सैनिक सूर्यकुमार नेम्वाङलाई पक्राउ गराएपछि आफ्नै ठगी धन्दाको पर्दाफास भएको हो ।

पाँचथरको फिदिम नगरपालिका–४ निवासी नेम्वाङलाई केही समयअघि प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्दा दोषी ठहर हुने अवस्था नरहेको र ठगीमा थापासहितका ब्यक्तिहरु संलग्न रहेको ठहरसहित रिहा गरेको छ । ठगीमा दोषी नदेखिएको भन्दै नेम्वाङलाई रिहा गरेसँगै अदालतले भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने नाममा थापा र नेपाली साझेदार श्रेष्ठविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

बेलायतको लण्डनमा बस्दै आएका नेम्वाङलाई थापाकै डिजाइनमा पक्राउ गराइएको थियो । लण्डनमा बसेर आफ्नो ल फर्ममार्फत केस दर्ता गर्ने शुल्क लिएर पनि थापाले कुनै पक्रिया अघि नबढाउँदा झण्डै ५ सय जना पीडित बनेका छन् ।सोही तथ्य खुलेपछि थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार थापामाथि लाहुरेमाथि ठगी र ‘ब्ल्याकमेलिङ’को लामो श्रृखला सञ्चालन गरेको अभियोग छ ।

यस्तै थापाले पूर्व गोर्खा सैनिक सूर्य नेम्वाङको नाममा किर्ते गर्दै रकम असुली गर्दै आएको तथ्यसमेत भेटिएको छ । अदालतले आफ्नै ल फर्ममा काम दिएर नेम्वाङको नाममा भूतपूर्व गोर्खा सैनिकका सन्तानहरुलाई बेलायतको आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने भन्दै रकम असुली गर्ने तर नेम्वाङलाई जानकारी नै नगराई केस हराउने गरेको तथ्य पनि फेला परेको हो । उहाँलाई यो ठगी धन्दामा नेपालमा रहेका श्रेष्ठ र अर्का विचौलिया दिपक मास्केले सहयोग गर्दै आएको पाइएको छ । विचौलिया मास्के नेपालमा बसिरहेको पाइएको छ । मास्के केही समय यता उहाँ थापाको केस मिलाउन नेपालमा दौडधुप गरिरहनु भएको पाइएको हो ।

अनुसन्धानको क्रममा फेला परेको तथ्यअनुसार थापाले भूतपूर्व गोर्खा सैनिक नेम्वाङको नाममा थुप्रै जनासँग रकम उठाएको पाइएको छ । बेलायतको नयाँ कानून अनुसार आवासीय भिसाको लागि कानुनी सेवा उपलब्ध गराउने भन्दै थापाले नेम्वाङको नाममा परिवारका सदस्यसँग रकम उठाएको पाइएको हो ।

लामो समय गोर्खाहरुको अधिकारको लागि सञ्चालित ‘संयुक्त संत्याग्रह संघर्ष समिति’को सह–संयोजक रहेर काम गरेका नेम्वाङलाई ब्रिटिस गोर्खाका परिवारले विश्वास गर्ने गरेको थाह पाएपछि थापाले उहाँको नाम दुरुपयोग गरी रकम असुली गर्नुभएको पनि अनुसन्धानले देखाएको हो ।

आन्दोलन र अभियानकै क्रममा ‘संयुक्त संत्याग्रह संघर्ष समिति’ ले सन २०१७ को नोभेम्बरमा नेम्वाङलाई केस हेर्ने जिम्मेवारी दिएको थियो । सो जिम्मेवारी पछि कानून कार्वाहीका लागि थापाले आफ्नो ‘एभरेष्ट सोलिसिटर सोलिसिटर्स’ नामक ल फर्ममा नेम्वाङलाई आवद्ध गराएको र उहाँको नाम बेचेर थुप्रै जनासँग पैसा लिने तर काम नगर्ने गरेको तथ्य पाइएको हो ।

नेम्वाङले भूतपूर्व गोर्खा सैनिकहरुमाथि आवासीय भिषाको लागि संयोजन गरिदिने काम गर्नुभएको थियो । थापाले पैसा लिने तर केस नै दर्ता नगर्ने गरेको थुप्रै घटनापछि नेम्वाङले पीडितहरुले नछाड्ने चेतावनीसहित एभरेष्ट सोलिसिटरबाट अलग हुनुभएको अदालतमा पेश भएको कागजातले देखाएको छ ।

थापाको ल फर्मबाट अलग भएपछि उहाँको कारण हारेको दर्जनौं पीडितको पुनः केस गरी जिताइएको थियो । सो घटनापछि भूतपूर्व गोर्खा सैनिकका परिवार थापाको ल फर्ममा जान छाडेपछि सुरुवाती चरनमा रहेको इमेल जो नेपालस्थित कन्सलटेन्सीमा आउने गरेको थियो, सो इमलेसमेत समी काछी रोजी श्रेष्ठ नदिई अलपत्र पार्ने काम गरेका छन् ।

प्राप्त कागजातअनुसार थापाको ल फर्ममा कार्यरत रहँदा नेम्वाङले आवासीय भिषाको लागि प्रक्रिया मिलाइदिने भन्दै सुरुमा भूतपूर्व गोर्खा सैनिक र तिनका परिवारबाट पल्टनका कागजात, राहदानी, इमेल र बैंक कार्ड लिने गर्नुभएको थियो । समितिले काम गर्ने जिम्मेवारी र शुल्क तोकेर नै नेम्वाङलाई यो कामको जिम्मा दिएकोले कानूनी प्रक्रिया पूरा गर्नका लागि ११ सय पौण्ड शुल्क लिने गरिएको थियो । सोही अनुसार नेम्वाङले शुल्क बताएर कागजात संकलन गर्नुभयो । तर थापाले समी काछी श्रेष्ठमार्फत दोब्बर भन्दा बढी रकम असुलेको प्रमाणसमेत फेला परेको छ । सो गैरकानूनी धन्दामा थापालाई साथ दिई गोर्खा सत्याग्रह संघर्ष समितिको केही अग्रज व्यक्तिहरुको समेत संलग्नता रहेको प्रमाण फेला परेको छ ।