
काठमाडौं, ४ फागुन । नेपाल एसीसी वुमन्स प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा मलेसियासँग पराजित भएको छ ।
शुक्रबार घरेलु टोली मलेसियासँग नेपाल ४ विकेटले पराजित भएको हो । पराजित भएसँगै नेपाल प्रतियोगिताबाट नै बाहिरिएको छ । नेपालले हारसँगै एसिया कप क्रिकेटमा छनोट हुने अवसर गुमाएको छ ।
नेपालले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य मलेसियाले अन्तिम ओभरमा मात्र ६ विकेट गुमाएर पूरा गर्यो । मलेसियाको जितमा एलस हन्टरले ६९ रनको नटआउट इनिङ्स खेलिन् । उनले ५३ बल खेल्दै ६ चौको मदतले सो रन बनाएकी हुन् । महिरा इस्माइलले १६ र मास एलिसाले १३ रनको योगदान गरिन् । वान जुलियाले ११ रन बनाईन् ।
नेपालकी कबिता जोशी र सिता राना मगरले समान २ तथा कबिता कुँवर र रुबिना क्षेत्रीले समान १ विकेट हात पारे । सुरुवातमा ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाएर १ सय १५ रन बनाएको थियो ।
नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक २९ रन बनाईन् । डोली भट्टले २५, कबिता कुवरले २३ र रुबिना क्षेत्रीले २० रन बनाईन् । सिता राना मगर ६ र कबिता जोशी २ रनमा आउट भए ।
मलेसियाकी माहिरा इस्माइलले दुई तथा विनीफ्रेड दुराई सिंगमले एक विकेट हात पारिन् ।








प्रतिक्रिया