सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

माओवादी केन्द्रको निर्णय : पार्टीको नाम र चुनाव चिह्न नफेरिने

दैनिक नेपाल २०८० फागुन ४ गते ७:०५

काठमाडौं, ४ फागुन । सरकारको नेतृत्वकर्ता नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) भित्र पार्टीको नाम र चुनाव चिह्न फेर्ने बहस चर्को रूपमा उठे पनि तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने निर्णय गरेको छ । पार्टीको विधान अधिवेशनमा उठेका एजेन्डालाई पार्टी नेतृत्वले फरक ढंगले व्याख्या गर्दै २० वटा समूहबाट प्राप्त सुझावको निष्कर्षसहित हाललाई पार्टीको नाम र चुनाव चिह्नको विषय छाडेको हो, आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

विधान महाधिवेशनको निष्कर्ष सुनाउँदै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल चुनाव चिह्न र पार्टीको नाम नफेर्ने बताउनुभयो । ‘आवश्यकताअनुसार आगामी दिनमा पार्टीको नाम भने फेर्न सकिन्छ’ –दाहालले भन्नुभयो ।

त्यस्तै, सो दलको केन्द्रीय समिति १९९ सदस्यीय बनाउने निर्णय गरेको छ ।

पार्टीको विधान अधिवेशनले १९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको नेताहरूले बताएका छन्  । पार्टीको प्रस्तावित मस्यौदा विधानमा १५१ सदस्यीय केन्द्रीय समिति बनाउने प्रस्ताव गरिएको थियो । तर, विधान अधिवेशन हलले संख्या बढाएको हो ।

त्यस्तै, ११ जनाको कार्यालय र स्थायी कमिटी केन्द्रीय समितिको एक तिहाइ सदस्य संख्याको बनाउनेलगायतका निर्णय गरेको नेकपा माओवादी केन्द्रका सचिव राम कार्कीले बताउनुभयो । उहाँका अनुसार पार्टीले आगामी चैत र वैशाखमा दुई छुट्टाछुट्टै अभियान सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।

सचिव कार्कीले भन्नुभयो– ‘आगामी चैत १ देखि १५ गतेसम्म तराई मधेस जनजागरण अभियान चलाइने भएको छ । जसमा हुलाकी राजमार्गलाई केन्द्र बनाएर पूर्वदेखि–पश्चिमसम्मको अभियान चलाइने छ । त्यहाँबाट संगठन निर्माण गर्ने पहल गर्ने भन्दै प्रचण्डले साथमा केन्द्रीय नेताहरू र सांस्कृतिक टिमसमेत रहने निर्णय भएको छ ।’

पार्टीको विधान अधिवेशनमा संश्लेषित विधान प्रस्तुत गर्दै अध्यक्ष प्रचण्डले दुईवटा अभियान सञ्चालन गर्ने बताउनुभएको थियो । विधान अधिवेशनको निष्कर्ष सुनाउँदै उहाँले हिमाल पहाड तराई राष्ट्रिय एकता अभियान पनि सञ्चालन गरिने बताउनुभयो । उत्तर–दक्षिण भनिएको उक्त अभियान वैशाख १ देखि १५ सम्म सञ्चालन हुने अध्यक्ष दाहालको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित