१ असार २०८३, सोमबार

विदेशी सहायता ७७ अर्ब घट्यो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ फागुन । मुलुकको विकासका लागि स्रोतको अभाव भइरहेका बेला अन्तर्राष्ट्रिय विकास साझेदारले नेपाललाई दिने सहायतामा भारी गिरावट आएको छ । सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न नसक्दा स्रोत अभावले विकास आयोजना प्रभावित भइरहेका छन् । यस्तो अवस्थामा चालु आर्थिक वर्षमा विदेशी सहायता गत वर्षको तुलनामा करिब आधाभन्दा बढीले घटेको हो आजको नागरिक दैनिकमा खबर छ ।

अर्थ मन्त्रालयले गत साता सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार गत वर्षको तुलनामा चालु आर्थिक वर्ष २०८०-८१ को ६ महिनामा अन्तर्राष्ट्रिय विकास सहायता प्रतिबद्धतामा ७७ अर्ब १४ करोड २३ लाख रुपैयाँले कमी आएको छ ।

गत आर्थिक वर्ष २०७९-८० को अर्धवार्षिक मूल्यांकनमा एक खर्ब ३७ अर्ब १२ करोड १० लाख रुपैयाँ अन्तर्राष्ट्रिय विकास सहायताको प्रतिबद्धता आएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा जम्मा ५९ अर्ब ९७ करोड ८७ लाख रुपैयाँमात्र विकास सहायता प्रतिबद्धता आएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५६.२६ प्रतिशतले कमी हो । नेपालले द्विपक्षीय र बहुपक्षीय सहायता लिँदै आएको छ । पछिल्ला पाँच वर्षको अर्धवार्षिक समीक्षा हेर्दा चालु आर्थिक वर्षमा सबैभन्दा कम देखिन्छ ।

वैदेशिक सहायतामा कमी आउँदा विकास निर्माण प्रभावित हुने पूर्वअर्थ सचिव सुमन शर्मा बताउँछन् । ‘राजस्वले चालु खर्च पनि धान्न मुस्किल रहेकाले पूर्वाधार विकासका लागि विदेशी ऋण तथा अनुदान आवश्यक छ,’ उनले भने, ‘विदेशी सहायतामा कमी आउँदा विकास आयोजना प्रभावित हुन्छन् ।’

सरकारको खर्च गर्ने क्षमतामा कमी, आयोजना कार्यान्वयन पक्ष फितलो हुनुलगायत कारण यसमा कमी आएको हुन सक्ने उनले बताए । सरकारले सडक, सिँचाइ, विद्युत्, खानेपानीलगायत क्षेत्रमा विदेशी सहयोग प्रयोग गर्दै आएको छ ।