
काठमाडौं, २९ माघ । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले क्लिनस्वीप गरेको छ ।
आज भएको तेस्रो तथा अन्तिम खेलामा क्यानडालाई नौ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिनस्वीप गरेको हो ।
यसअघि नेपाल पहिलो खेलमा सात रन र दोस्रो खेलमा चार विकेटले विजयी भएको थियो। नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य १ विकेटको क्षतिमा ४४.३ ओभरमा पूरा गर्यो।
नेपालका लागि अनिल शाह र भीम सार्की शतकीय पारी खेलेका थिए । अनिलले अविजित ११२ र भीमले अविजित १०१ रन बनाएका थिए । अनिल र भीमले दोस्रो विकेटका लागि १८९ रनको साझेदारी गरेका थिए । यो साझेदारी नेपालको एकदिवसीय इतिहासमा कुनै पनि विकेटका लागि अहिलेसम्मको ठुलो साझेदारी हो । यस अघि कुशल भुर्तेल र आसिफ सेखले जिम्बाबेविरुद्ध पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरेका थिए ।
यस अघि टस हारेर पहिला ब्याटिंग गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो ।
क्यानडाका लागि नवनीत धलिवालले सर्बाधिक ५० रन बनाएका थिए भने निखिल दत्ताले ४५ रन बनाए । त्यसैगरी हर्ष ठकेरले २९, श्रेयस मोभ्भाले २५, श्रीमान्थ विजेयेरात्नेले २२ तथा साद बिन जफारले अविजित ३१ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर हेमन्त धामीले आफ्नो डेभ्यु खेलमा ३ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा ललित राजबंशी र आकाश चन्दले एक एक विकेट लिएका थिए ।
योसँगै नेपालले सिरिज ३-० ले जितेको छ ।








प्रतिक्रिया