३० आश्विन २०८३, शुक्रबार

नेपालले जित्यो क्यानडाविरुद्धको सिरिज

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । नेपालले एक खेलअगावै क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज जितेको छ ।

शनिबार टियु मैदानमा भएको दोस्रो खेलमा क्यानडालाई ४ विकेटले पराजित गर्दै नेपालले सिरिजको उपाधि जितेको हो ।

क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले २९ बल बाँकी छँदै ६ विकेट गुमाएर भेट्टायो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाएका थिए भने देव खनालले ७६ रन बनाएका थिए ।

त्यस्तै अनिल शाहले १९ बलमा ५० रन बनाउदै नेपालबाट सबैभन्दा कम बलमा अर्धशतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यसअघि असिफ सेखले २१ बलमा अर्धशतक बनाएको रेकर्ड थियो ।

त्यस्तै भीम सार्कीले २३, पवन सराफले १४, आसिफ सेखले १० रन बनाएर आउट भएका थिए भने कुशल मल्लले अविजित ९ र सोमपाल कामीले अविजित ९ रन बनाएका थिए ।

त्यसैगरी क्यानडाका बलरहर्ष ठाकेर र इश्वोरजोत सोहिले दुईदुई विकेट लिएका थिए भने साद बिन जाफर र दिलप्रित बाज्वाले एकएक विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।

क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए भने नवनीत धालिवालले ४६ रन बनाएका थिए । त्यसैगरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस किर्तन र उदय भागवानले २०-२० तथा दिलप्रित बाजवाले १९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले दुईदुई विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सुर्य तामाङ र पवन सराफले एकएक विकेट लिएका थिए ।

यसअघि पहिलो खेलमा नेपालले क्यानडालाई ७ रनले पराजित गरेको थियो ।

अब नेपाल र क्यानडाबीचको अन्तिम खेल सोमबार हुनेछ ।