
रौतहट, २३ माघ । नेकपा (एमाले) रौतहटको दशौँ जिल्ला अधिवेशनको मिति नजिकिँदै जाँदा चहलपहल समेत बढ्दै जान थालेको छ ।
नेकपा एमाले रौतहटको दशौँ जिल्ला अधिवेशनमा अध्यक्ष लगायत पदाधिकारीमा चुनाव हुने आकलन बढेसँगै एकपछि अर्को गरेर अध्यक्षका उम्मेदवारहरू देखा पर्न थाल्नुभएको छ ।
अध्यक्षको उम्मेदवारमा अखिलेश्वर चौधरी, रुपेश पटेल, सचिदानन्द साह र बवन सिंहले आआफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ । अध्यक्षका उम्मेदवार अखिलेश्वर चौधरीलाई केन्द्रीय सदस्य अजयकुमार गुप्ता र मधेस प्रदेशकी उपसचिव आरती भण्डारीको साथ रहेको छ। स्रोतका अनुसार नेकपा एमालेका केन्द्रीय सदस्य उद्धव रेग्मीको पक्षबाट सचिदानन्द शाहले अध्यक्ष पदमा उम्मेदवारी दिने आँकलन गरिएको छ।
यता आफूलाई युवाहरूको साथ रहने भन्दै नेकपा एमाले रौतहटका हालका उपसचिव रूपेश कुमार पटेलले पनि अध्यक्षमा आफ्नो उम्मेदवारी रहने दाबी गर्दै आउनु भएको छ । यता एमालेका नेता भवन सिंहले पनि आफ्नो अध्यक्षमा उम्मेदवारी रहने भन्दै सामाजिक सञ्जालबाट मत माग्न थाल्नु भएको छ ।
करिब ४ सय मतदाता रहेको एमालेको दशौँ जिल्ला अधिवेशनको निर्णायक मत चन्द्रपुर नगरपालिकामा रहेको छ। ४ सयमध्ये करिब २ सय मतदाता चन्द्रपुर नगरपालिकामै रहेका कारण चन्द्रपुर नगरपालिकाको मतले नै कुनै पनि उम्मेदवारले अध्यक्षमा विजय हासिल गर्ने आकलन गरिएको छ ।
अध्यक्ष लगायत अधिकांश पदाधिकारीहरूको ध्यान यतिबेला चन्द्रपुर नगरपालिकामा रहेका प्रतिनिधितर्फ केन्द्रित भएको एक प्रतिनिधिले जानकारी दिनुभएको छ । एमाले रौतहटको दशौं जिल्ला अधिवेशनलाई अन्य राजनैतिक दलहरूले समेत गम्भीरताका साथ निहाली रहेका छन् ।
सर्वसम्मत नहुने अनुमान गरेका अधिकांश उम्मेदवारहरूले यतिबेला प्रतिनिधिहरूसँग आफ्नो लागि मत समेत माग्न थालिसक्नु भएको छ ।















प्रतिक्रिया