२२ असार २०८३, सोमबार

एमाले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि लड्छ : उपाध्यक्ष पौडेल

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

 

लुम्बिनी, २२ माघ । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपाली समाजका सबै प्रकारका विभेदको अन्त्य गरेर जनतालाई सुखी, समृद्धि तुल्याई समाजवादको जग निर्माण गर्नेगरी नेकपा एमाले अघि बढ्ने बताउनुभएको छ ।

एमाले रुपन्देहीले आजदेखि सुरु गरेको जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेकपा एमालेका हरेक कार्यकर्ताले मुलुकको समृद्धि र विभेदरहित समाजका लागि अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

नेता पौडेलले एमालेलाई समाप्त पार्ने गरी भएका घेराबन्दीलाई तोड्न पार्टीले लिएको जनपक्षीय नीति र सिद्धान्तका आधारमा अघि बढ्न कार्यकर्तालाई आह्वान पनि गर्नुभयो । उहाँले पार्टी निर्माणका लागि जनताका सरोकार र आवश्यकतासँग प्रत्यक्ष जोडिएका विषयको निकटमा रहेर उनीहरुका समस्याको समाधान गर्नेतर्फ लाग्नुपर्नेमा पनि जोड दिनुभयो ।

नेता पौडेलले पछिल्लो समयमा पार्टी अनुशासनका विरुद्ध सङ्गठनात्मक अराजकताले प्रवेश पाएको भन्दै त्यस खालका प्रवृत्तिलाई पार्टी नेतृत्वले अनुमोदन नगर्ने पनि स्पष्ट गर्नुभयो । उहाँले एमाले अनुशासित, एकताबद्ध र गतिशीलताका साथ अघि बढ्ने पार्टी भएको बताउनुभयो । “अराजकतालाई पार्टीले कहिल्यै पनि प्रश्रय दिँदैन र यस्ता क्रियाकलापलाई सदैव नियन्त्रण गर्छ । पार्टीमा होस् या जहाँ पनि अराजकताले कहिल्यै जित्दैन र अनुशासनले कहिल्यै हार्दैन ।”

तीन दिनसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालालगायतले प्रशिक्षण दिने कार्यक्रम रहेको पार्टी जिल्ला अध्यक्ष तेजेन्द्र केसीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रशिक्षणमा पार्टी जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरु र रुपन्देही जिल्लाबाट प्रदेश कमिटीमा रहेका एक सय ५० नेता तथा कार्यकर्ताको उपस्थिति रहेको छ ।