शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

अन्ततः पदाधिकारीसामु गले डा.भट्टराई

दैनिक नेपाल २०८० माघ २१ गते ७:४८

काठमाडौं, २१ माघ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकीकरण हुने भएको छ । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यशैलीबाट असन्तुष्ट रहेका नेसपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई पार्टी नेताहरुको दबाबका कारण एकीकरण गर्न सहमत भएका हुन्, आजको राजधानी दैनिकमा खबर छ ।

नेसपाभित्र पार्टी एकीकरण गर्ने पक्षधर नेताहरु बहुमतमा रहेका छन् । सुरुमा पार्टी एकीकरण नगर्ने अडानमा रहेका डा.भट्टराईलाई ती नेताहरुले एकीकरणका लागि दबाब दिदै आएका थिए । ‘बाबुरामजी नमाने पार्टी विभाजन गरेरै एकीकरण गर्नेसम्मको कुरा आएपछि उहाँ (बाबुराम) पनि एकीकरणका लागि सहमत हुनुभयो,’ नेसपाका एक पदाधिकारीले भने ।

माओवादी केन्द्रले विभिन्न समयमा माओवादीबाट विभाजन भएर गठन भएका दलहरुसँग एकीकरण गरेर अगाडि बढनुपर्ने रणनीति लिएको छ । प्रचण्डले सार्वजनिक रुपमै माओवादी घटकहरु एकीकरण गर्नुपर्ने बताउँदै आएका छन् । माओवादी केन्द्रले सोही अनुसार पार्टी एकीकणका लागि समिति समेत गठन गरेर वार्ता, छलफल गर्दै आएको छ ।

माओवादीसँग तत्काल पार्टी एकता गरेर जाने पक्षमा नेसपा अध्यक्ष महिन्द्रराय यादव सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेशप्रसाद यादवलगायत नेताहरू रहेका छन् । यी नेताहरुकै दबाबका कारण नेसपा अध्यक्ष डा. भट्टराई पार्टी एकताका लागि सहमत भएपछि शनिबारको केन्द्रीय समितिको बैठक सुरु भएको थियो ।

गत वर्ष निर्वाचनअघि नै माओवादी केन्द्र र नेसपाबीच पार्टी एकीकरण गर्ने सहमति भएको थियो । तर भट्टराईलाई थाहै नदिई माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा गठन गरेपछि उनी असन्तुष्ट रहँदै आएका छन् । जबकी समाजवादी मोर्चाको अवधारणा र मोर्चावन्दी गर्नुपर्ने विषय उठाउने नै भट्टराई हुन् ।

प्रतिक्रिया
सम्बन्धित