
काठमाडौं, १९ माघ । रुसी सेनामा भर्ना हुनुभएका नेपालीका परिवारले उहाँहरुको तत्काल उद्धार गरिदिनका लागि सरकारसँग आग्रह गर्नुभएको छ ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी उहाँहरुले सरकारलाई दबाब बढाउनु भएको हो । उपस्थित दर्जन बढी पीडित परिवारका सदस्यहरुले रूसी सेनामा भर्ना भएका आफ्ना आफन्तलाई नेपाल ल्याइदिन सरकारसँग माग गर्नुभएको हो ।
उदयपुरबाट दुधे बालक बोकेर काठमाडौं आउनु भएकी टिना घिमिरेले पति पदम घिमिरे दुई महिनादेखि सम्पर्कविहीन भएको उल्लेख गर्नुहुँदै उद्दारका लागि पहल गरिदिन आग्रह गर्नुभयो । उहाँका अनुसार रुसी सेनामा गएका श्रीमान पदमले दुई पटक भाग्ने प्रयास गरेपनि दुवै पटक असफल हुनु भएको र पदमलाई रुसी सेनाले फर्काएर लगेपछि दुई महिनादेखि सम्पर्कमा नआउनु भएको उहाँले जानकारी दिनुभयो ।
‘दुई महिना भैसक्यो उहाँ सम्पर्कमै हुनुहुन्न । उहाँ दुईचोटी भागेको बताउनुहुन्थ्यो । पहिलो पटक भागेको पाँच दिनमा समातेर फिर्ता ल्यायो भनेर क्याम्पबाट मलाई फोन गर्नुभएको थियो । अर्कोचोटी पनि भाग्नुभएको थियो । दुई दिनमै उहाँ समातिनु भयो ।’
त्यसपछि युद्धमा जान लागेको बेला आफूलाई कल गरेको सम्झँदै उहाँले भावुक हुँदै थप्नुभयो,‘त्यसपछि रातिमा ‘वाक’ जान लागेको छु । आएपछि फोन गर्छु भनेर जानु भएको त्यसपछि फोन गर्नुभएको छैन् ।’ अवरुद्ध गला र झरेका आँशुले टिनाको पीडा प्रष्ट देखिन्थ्यो ।
यस्तै, खोटाङकी शिला राईले पनि रुसी सेनामा भर्ना भएका आफ्नो दाई रवीनकुमार राई घाइते अवस्थामा रहेको जानकारी दिँदै उद्धार गरिदिन आग्रह गर्नुभयो । शिलाका अनुसार उहाँको दाई रवीनकुमार २१ दिनदेखि रुसको अस्पतालमा उपचाररत हुनुहुन्छ । शिलाले भन्नुभयो, ‘दाई हामीसँग सम्पर्कमै हुनुहुन्छ । तर, उहाँ हस्पिटलमा हुनुहुन्छ । अडियो कल बाहेक भिडियोमा हेर्न पाएका छैनौ । उहाँ नेपाल आउन चाहनुहुन्छ । मेरो दाइलाई मात्र होइन जतिपनि रसियन आर्मीमा आवद्ध हुनुहुन्छ उहाँहरुलाई सरकारले चाँडोभन्दा चाँडो नेपाल पर्काइदिन अनुरोध गर्छु ।’
यता सतुङ्गलका नारायण खड्गीले पनि आफ्नो सालो सम्पर्कविहीन भएको सुनाउनुभयो । सात लाख रुपैयाँ खर्च गरेर ६ महिना अगाडि रुसी सेनामा भर्ना भएका रामकुमार प्रधानसँग अन्तिम पटक असोज २५ गते कुराकानी भएको खड्गीले बताउनुभयो । त्यसयता उहाँका सालो सम्पर्कविहीन हुनुहुन्छ । आफ्नो सालोसँग बन्करमा बसेका केही नेपाली घाइते भएको उल्लेख गर्दै उहाँले थप्नुभयो, ‘एउटै बंकरमा बसेको उसका साथीहरुलाई बमको छर्रा लागेर घाइते भएकोले उपचार गराइरहेका छन् । मेरो सालो कहाँ गयो भाग्यो कि युक्रेनले समात्यो थाहा छैन ।’
रुसी सेनामा भर्ती हुनु भएका तर भागेर दुई महिना अघि नेपाल आउन सफल खोटाङका सुमन राईले त्यहाँ करिब १४/१५ हजारको आँकडामा नेपाली भर्ती भएको हुनसक्ने बताउनुभयो । आफैंले चारसय बढीको ज्यान गुमाएको देखेको उहाँको दावी छ । रसियन फौजमा ज्यान गुमाएका र बेपत्ता भएकाका परिवारको पत्रकार सम्मेलनमा उहाँले सुकेधाराको मेनपावरबाट भिजिट भिसामा रुस पुगेकै भोलिपल्ट भर्ना भएको जानकारी दिनु भएको थियो ।
आफूले एक महिना १८ दिन त्यहाँ काम गरेको उहाँको भनाई छ । ‘मेरै अगाडि ६ जना मरेको देखेर आएँ । त्यो भन्दा धेरै मरिसकेका छन्’, उहाँले भन्नुभयो । उहाँले ऋण काढेर रुस जाँदा आठ लाख र भागेर आउँदा तीन लाख रुपैंयाँ तिरेको सुनाउनुभयो । उहाँका अनुसार सेनामा भर्ती भैसकेपछि युद्धमा कोही मरे भने उनीहरुलाई त्यसै छाडिन्छ ।
सुमनले भन्नुभयो, ‘नेपाली मरे छाडेर रुसीहरू गाडी लिएर जान्छन् । मंगोलियन, भारतीय र चिनियाँ पनि त्यहाँ छन् ।’ असोज १५ मा रुस पुग्नुभएका राईले तिहारको अघिल्लो दिन रातो पासपोर्टका लागि ज्यान दिन्न भनेर नेपाल फर्किएको सुनाउनु भएको थियो । उहाँको लटमा भर्ना हुनेहरू आठसय जना रहेको उहाँले बताउनुभयो ।









प्रतिक्रिया