
काठमाडौं, १९ माघ । सिरहामा पिकअप भ्यान अनियन्त्रित भई घरमा ठोकिँदा घुर तापिरहेका एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते हुनुभएको छ । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
जिल्लाको सुखिपुर नगरपालिका १ शिवनगरका जितन मोची र भोरिल रामको घरमा प्र. २–०१–००१ च ०६३१ नम्वरको पिकप भ्यान अनियन्त्रित भइ ठोक्किँदा ७२ वर्षिय जितन मोचीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी गम्भीर घाईते मोचीलाई उपचारको लागि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गर्नुभएको थियो । शव रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ।
घटनामा ७० वर्षीय गुजरी राम र चालक १८ वर्षीय शंकर यादव गम्भीर घाइते हुनुभएको छ । उहाँहरुको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिनुभयो । अन्य तीनजनाको लहान र धनगढीका स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ।
प्रहरीले राति नै गाडी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।








प्रतिक्रिया