
काठमाडौं, १६ माघ । नेकपा (एमाले) की उपाध्यक्ष एवं बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले वर्तमान सत्ता गठबन्धन मानवअधिकारको विषयमा संवेदनशील नभएको बताउनुभएको छ ।
मानव अधिकारकर्मी तथा सामाजिक अभियन्ताहरूको दोस्रो सम्मेलन र राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च वाग्मती प्रदेशको प्रथम सभालाई काठमाडौंमा सम्बोधन गर्नुहुँदै उपाध्यक्ष शाक्यले गठबन्धन सरकारको ध्यान मानवअधिकारको रक्षामा भन्दा सत्ता लुछाचुँडीमा नै केन्द्रीत भएको बताउनुभएको हो ।
‘सरकारको मानवअधिकार विरोधी गतिविधिको विरुद्ध खबरदारी गर्न जरुरी छ’, उहाँले भन्नुभयो । नेपाली जनताको बलिदानबाट प्राप्त संघीय गणतन्त्रमा पनि मानव अधिकार उल्लङ्घनका घटना हुनु दु:खद भएको शाक्यले बताउनुभयो । यसका विरुद्ध मानवअधिकारकर्मी र सामाजिक अभियन्ताले नागरिक आन्दोलनलाई अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको शाक्यले बताउनुभयो ।
कार्यक्रममा बोल्दै एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले नेपालको संविधानले मौलिक अधिकारको ग्यारेन्टी गरेको भए पनि कार्यान्वयनको पक्ष फितलो रहेको धारणा राख्नुभयो । यसले नेपालका राजनीतिक दल र सरकारप्रति जनताको विश्वास घट्दै गएको ढकालले बताउनुभयो । मानव अधिकारको विषयमा एमाले गम्भीर रहेको उहाँले बताउनुभयो ।










प्रतिक्रिया