मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

कुवेतमा कसरी पुगे २५ हजार नेपाली महिला ?

दैनिक नेपाल २०८० माघ १६ गते ६:५९

काठमाडौं, १६ माघ । कुवेतमा २५ हजारभन्दा धेरै नेपाली महिला घरेलु कामदार रहेका पाइएको छ । कुवेतले भर्खरै निकालेको एक प्रतिवेदनमा त्यहाँ २५ हजारभन्दा धेरै नेपाली महिलाले घरेलु कामदारका रूपमा काम गर्ने गरेको जनाइएको छ, आजको राजधानी दैनिकमा खबर छ ।

यो तथ्यांक सन् २०२३ सम्मको हो । त्यहाँस्थित नेपाली दूतावासका प्रथम सचिव प्रेमराज गौतमले दूतावासमा घरेलु महिला कामदारको तथ्यांक नरहेको बताए । पछिल्लो समय गैरकानुनी बाटो हुँदै कुवेत पुगेका सयौं नेपाली घरेलु महिला कामदारले घरमालिकले बन्धक बनाएको र यातना दिएको भन्दै दैनिकजसो उद्धारको अनुरोध गर्दै आएका छन् ।

नेपालले २०७३ सालमा घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा गएका महिला असुरक्षित भएको भन्दै प्रतिबन्धसमेत लगाएको थियो ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयमा खाडी तथा मलेसिया जान लगाएको प्रतिबन्ध ७ वर्ष बित्न लाग्दा पनि हटेको छैन । वैदेशिक रोजगारीमा घरेलु कामदारका रूपमा गएका अधिकांश महिलाको मानसिक, शारीरिक, आर्थिक शोषण भएकाले सरकारले रोक लगाएको थियो ।

यतिका वर्ष प्रतिबन्ध लगाए पनि मानव तस्करहरूले भारतको बाटो हुँदै गैरकानुनी तरिकाले खाडीका विभिन्न मुलुकमा घरेलु कामदार लैजाने गरेका छन् । नेपाल सरकारले घरेलु कामदारमा लगाएको प्रतिबन्ध खुला गर्दै विभिन्न मुलुकमा श्रम सम्झौता गरी कानुनी तरिकाले कामदार पठाउने वातावरण मिलाउनसके हजारौं नेपाली महिलाले रोजगारी पाउने थिए ।

प्रतिक्रिया
सम्बन्धित