
काठमाडौं, १५ माघ । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानमा रहेको विभागीय क्लब नेपाल पुलिसले अपराजित यात्रा कायम राखेको छ ।
समूह चरणको सातौं खेल खेलेको पुलिसले अहिलेसम्म शतप्रतिशत जितको नतिजा आत्मसाथ गर्न सफल भएको छ । मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई ६ विकेटले स्तब्ध बनाएको छ । गण्डकी प्रदेशको भने यो छैटौं हार हो । गण्डकीले पहिला ब्याटिङ गर्दै ३८.३ ओभरमा सवै विकेट गुमाएर १७० रन बनाएको थियो ।
गण्डकीका लागि अमृत गुरुङले अर्धशतकीय पारि ५० रनको खेल्दा कमल परियार र करण पँगेनीले ३०/३० तथा समीर कँडेलले २९ रन बनाउनुभयो । पुलिसका रसिद खानले सर्वाधिक ५ विकेट लिँदा ललित राजवंशी र करण केसीले दुई दुई विकेट हात पार्नुभयो । दीपेन्द्रसिंह ऐरीले १ विकेट लिनुभयो ।
१७१ रनको लक्ष्यसहित मैदान उत्रिएको पुलिसले २४.२ ओभरमा ४ विकेट गुमाएर विजयी भयो । पुलिसको जितमा दिलिप नाथले ५७ रनको अर्धशतकीय पारि खेल्दा अर्जुन साउदले नटआउट ४४ रन बनाउनुभयो । यसैगरी आरिफ शेख पनि नटआउट २७ रनमा फर्किँदा, कुशल भुर्तेलको ब्याटबाट २२ रन बन्यो ।
शंकर राना भने १२ रनमा आउट हुनुभएको थियो । गण्डकीका सन्दीप पराजुलीले २ विकेट लिँदा विपिन खत्री र कमल परियारले एक एक विकेट लिनुभयो ।









प्रतिक्रिया