मंगलबार, २५ वैशाख २०८१
DainikNepal.com
मंगलबार, २५ वैशाख २०८१

माओवादी केन्द्र : पार्टी नाम परिवर्तन हुने निश्चित, एकीकरण अनिश्चित

दैनिक नेपाल २०८० माघ १४ गते ७:५२

काठमाडौं, १३ माघ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले १–३ फागुनमा काठमाडौंमा विधान सम्मेलन गर्दै छ । विधान सम्मेलनअघि माओवादी केन्द्रबाट विभिन्न समयमा विभाजन भई गठन भएका दलहरूसँग पार्टी एकीकरण गर्ने योजना असफल भएको छ, आजको राजधानी दैनिकमा खबर छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा २८ पुसमा बसेको स्थायी कमिटी बैठकले पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा पार्टी एकीकरणका लागि एकता संयोजन समिति गठन गरेको थियो ।

माओवादीबाट विभाजन भई गठित डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा), प्रभु साह नेतृत्वको आमजनता पार्टी (आजपा), नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपालगायतका दलसँग पार्टी एकीकरणका लागि प्रचण्ड नेतृत्वमा एकता संयोजन समिति गठन भएको थियो । तर, यी तीनमध्ये कुनै पनि दलसँग एकीकरण नहुने माओवादी केन्द्रका एक पदाधिकारीले जनाएका छन् ।

‘बाबुराम, प्रभु र विप्लव नेतृत्वको कुनै पनि दलसँग एकीकरणका लागि वातावरण बन्न सकेन । सबैलाई पार्टी अध्यक्ष नै चाहिएको छ । पार्टीमा मुख्य जिम्मेवारी भए मात्रै एकीकरण हुनुपर्ने भन्ने कुरा आएकाले वातावरण बन्न सकेन’ ती पदाधिकारीले भने, ‘यी दलसँग एकीकरण गर्ने विषय धेरै टाढा गइसकेको छ । बाबुराम र हिसिला यमीबाहेक सो पार्टीका नेताहरू पार्टी प्रवेश गर्नुहुन्छ । प्रभुजीको पार्टीसँग एकीकरण नहुने निश्चित छ । विप्लवजी अहिले पार्टी एकीकरण गरौं कि नगरौं भन्ने अन्योलमा हुनुहुन्छ ।’

विधान सम्मेलनबाट पार्टीको नाम परिवर्तन हुन्छ । पार्टीको नामबाट माओवादी केन्द्र हटाएर ‘नेकपा समाजवादी’ हुने निश्चित भएको छ । पार्टीमा आउनेलाई समेटेर अगाडि बढ्ने योजनामा प्रचण्ड रहेको बताइएको छ । ‘आउनेलाई ल्याउने, नआउनेलाई केही गर्न सकिँदैन । पार्टीको नामबाट माओवादी केन्द्र हटाएर नेकपा समाजवादी राखेर अगाडि बढनेछौं,’ माओवादी केन्द्रका एक पदाधिकारीले भने ।

प्रतिक्रिया
सम्बन्धित