
विराटनगर, १३ माघ । क्यानाडाको राष्ट्रिय क्रिकेट टिम एक दिवसीय मैत्रीपूर्ण खेल खेल्न नेपाल आउने निश्चित भएको छ । क्यानाडाले नेपालसँग एक दिवसीय मैत्रीपूर्ण खेल खेल्नेछ । क्यानेडेली क्रिकेट टिम जनवरी २८ मा हङ्ककङ्ग जाने र त्यहाँका खेल गतिविधि सकेपछि फेब्रुअरी पहिलो साता नेपाल आउने निश्चित भएको हो ।
यसअघि नेपाली टोली क्यानाडा गएर खेल खेलेको थियो । क्यानाडाको क्रिकेट टोली भने पहिलो पटक नेपाल आएर खेल्न लागेको हो ।
टिम क्यानाडाले नेपाली राष्ट्रिय क्रिकेट टिमसँग फेब्रुअरी १०, १२ र १४ मा काठमाडौंमा तीनवटा एक दिवसीय खेल खेल्नेछ ।
क्रिकेट एसोसिएसन अफ नेपालले २०२४ को खेल क्यालेण्डरमा दुई देशबीच एक दिवसीय क्रिकेट म्याच हुने घोषणा गरिसकेको छ । उक्त क्यालेण्डर प्रकाशनका बेला नेपाली क्रिकेटका पूर्वकप्तान पारस खड्काले नेपाल भ्रमणका क्रममा क्यानाडाले १० दिन प्रशिक्षण पनि गर्ने जनाउनुभएको थियो । प्रशिक्षणका क्रममा नेपालको ‘ए’ टिमसँग कम्तीमा तीनवटा ५० ओभरको खेल र ट्वान्टी–२० खेल खेल्ने बताउनुभएको थियो ।
नेपालसँग तीन एक दिवसीय अन्तर्राष्ट्रिय खेलको शृंखला खेलेपछि क्यानाडाले १० दिन मूलपानीमा अभ्यास गर्दै नेपाल ‘ए’ सँग थप खेलहरु खेल्ने जनाइएको छ ।
नेप्लिज क्यानेडियन क्रिकेट क्लबका पूर्वअध्यक्ष तथा एनआरएनए क्यानाडाका उपाध्यक्ष किरोज श्रेष्ठले क्यानाडा र नेपालको मित्रतापूर्ण सम्बन्धको निरन्तरता स्वरूप यो भ्रमण हुन लागेको उल्लेख गर्नुभयो ।
नेपालको राष्ट्रिय टिमले गत वर्ष क्यानाडा भ्रमण गरेर मैत्रीपूर्ण खेल खेलेको थियो । नेप्लिज क्यानेडियन क्रिकेट क्लब लगायतका नेपाली संघ संस्थाले टिम क्यानाडालाई औपचारिक बिदाइ कार्यक्रमको आयोजना गरेको अन्टारियोमा रहेका नेपाली सञ्चारकर्मी बेनुप भट्टराईले जानकारी दिनुभयो ।
ब्राम्टनमा आयोजित कार्यक्रमका अन्य आयोजकहरूमा एनआरएनए क्यानाडा, एनसिएनसी, लालीगुराँस स्पोर्टस एण्ड कल्चरल क्लब, नेपाली जनसम्पर्क समिति, नेपाल हाउस, ओभरसिज नेपाली फोरम, क्यानडा–नेपाल मैत्री तथा सांस्कृतिक समाज, टोरन्टो नेपाली स्पोर्टस क्लब, क्यानाडा नेपाल चेम्बर अफ कमर्स, चितवन समाज, क्यानाडा, नेपाली क्यानेडियन हेरिटेज सेन्टर, क्यानेडियन नेवा गुठीलगायत रहेको भट्टराईले बताउनुभयो ।








प्रतिक्रिया