२७ कार्तिक २०८३, शुक्रबार

श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको छ : सभामुख घिमिरे

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, १३ माघ । संघीय संसद्का सभामुख देवराज घिमिरेले श्रमको मूल्य र महत्व पहिचानको अभाव भइरहेको बताउनुभएको छ ।

मकवानपुरको भीमफेदी गाउँपालिकाले आयोजना गरेको अनौपचारिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा उहाँले श्रमको उचित मूल्य र महत्व पहिचान गरी सामाजिक सुरक्षा कोषमा आबद्ध गराउनुपर्ने बताउनुभयो । उहाँले श्रमिकको सामाजिक उत्थान गराउन कोषमा आबद्ध गराउन तीनै तहका सरकारले पहलकदमी लिनुपर्ने बताउनुभयो । कोषमा हालसम्म रु ५१ अर्ब २९ करोड संकलन भएको उहाँले बताउनुभयो ।

सभामुखका अनुसार राज्यले कमजोर नागरिकलाई आर्थिक सहायता दिन र सामाजिक सुरक्षा प्रदान गर्न उक्त योजना ल्याएको हो । कोषले श्रमिकको जीवनलाई सार्थक बनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन फलदायी रहेको उहाँले बताउनुभयो ।

संघीयतालाई सही ढंगबाट कार्यान्वयन गर्न सकेको खण्डमा मुलुकको समृद्धि सम्भव रहेको र संघीयता कार्यान्वयनको चरणमा तीनै तहका सरकार गम्भीर भएर अघि बढ्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले नागरिकको हकअधिकार र सेवा प्रवाहका विषयमा सही ढंगबाट काम गर्न कुनै पनि कानुनले बाधा नपर्ने बताउनुभयो । सही नियतले प्रभावकारी योजना बनाएर कार्यान्वयनका अघि बढ्न आग्रह गर्नुभयो ।

सभामुख घिमिरेले सामाजिक सुरक्षा कोषका विषयमा श्रमिक र रोजगारदाता संस्थाहरु जानकारी गराएर आबद्ध गराउनुपर्नेमा जोड दिनुभयो । राज्यले लिएको नीतिलाई कार्यान्वयनको पहल गरेको भन्दै उहाँले भीमफेदी गाउँपालिकाको प्रशंसा गर्नुभयो ।

नेकपा एमालेका सचेतक महेश बर्तौलाले सामाजिक सुरक्षा कोषमा संघीय र प्रदेश सरकारको लगानी गर्नुपर्ने बताउनुभयो । सामाजिक सुरक्षा योजनाको स्थायित्व र निरन्तरताका लागि तीनै तहका सरकारको लगानी र श्रमिकको सहलगानी जरुरी रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार संगठित र औपचारिक क्षेत्रमा २७ लाख श्रमिकमध्ये हालसम्म चार लाख ७८ हजार श्रमिक आबद्ध रहेको र सामाजिक सुरक्षा कोषमा हालसम्म देशभरका एक सय १३ रोजगार दाता संस्थाहरु दर्ता भएका छन् ।