
काठमाडौं, १३ माघ । धरहराकोसँगै निर्माण भएको पार्किङ भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने भएको छ ।
काठमाडौं महानगरपालिकाले न्यूरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरुलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा यो सेवा दिन लागिएको हो ।
महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डे भन्नुहुन्छ, ‘यसअघि काठमाडौं टावर (साविक पुरानो बसपार्क)मा निःशुल्क पार्किङ सेवा उपलब्ध गराइसकिएको छ । सरोकारवालासँगको समन्वयमा भोलिदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा सेवा उपलब्ध गराउन लागेका हौं ।’
पाण्डेकाअनुसार ५० हजार स्क्वायर फिट क्षेत्रफल निःशुल्क पार्किङका लागि उपलब्ध हुनेछ । सहिद गेटबाट नयाँ सडक जाँदा गएको दशैंदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लवहरुसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो । संरचनागत रुपमा उक्त ठाउँ नेपालकै ठूलो पार्किङ संरचना हो ।








प्रतिक्रिया