२९ जेष्ठ २०८३, शुक्रबार

यूएईमा नेपाली बिरामी हुँदा उपचारै गर्दैनन् रोजगारदाता

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ माघ । राम्रो कमाइ हुने प्रलोभनमा परेर करिब पाँच महिनाअघि मात्र रोजगारीका लागि माईजोगमाई–४ साबिक हात्तीटार नामसालिङ इलामका सुकबहादुर लिम्बु संयुक्त अरब इमिरेट्स (यूएई) पुगे । काठमाडौंको अल सेक्युर म्यानपावर कम्पनीमार्फत त्यहाँ पुगेका लिम्बु १५ दिनदेखि बिरामी छन्, आजको राजधानी दैनिकमा खबर छ ।

यूएईको ग्रिन स्याडो सेक्युरेटी सर्भिस कम्पनीमा कार्यरत उनी बिरामी भएर त्यहाँको अल खवानिज–२ जेएफएम क्याम्पमा उपचार तथा उद्धारको पर्खाइमा छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा सन्देश लेख्दै भनेका छन्, ‘म १५ दिनदेखि असक्त रूपमा बिरामी परेको छु, कम्पनीले आफैँ उपचार गर भन्छ, अघिल्लो महिनाको तलब १ रुपैयाँ पनि दिएन, खानलाई त पैसा छैन, कसरी उपचार गर्ने ?’

उनले अगाडि लेखेका छन्, ‘मैले कुन पैसाले उपचार गरौं, इन्स्योरेन्स पनि थोरै साधारण रुगा खोकीको रहेछ । मेरो समस्या गालामा अनौठो गिर्खा भित्रबाट आएको छ, मुख खोल्नसम्म हुँदैन, सुन्निएको छ ।’ लिम्बुले ‘भित्र धेरै दुख्ने र खाना खानसमेत नभएको’ भन्दै लेखेका छन् ।

‘१५ दिनजति भयो, तातो पानी र ब्रट घोलेर जबर्जस्ती खाएर सास जोगाएको छु, मलाई यहाँबाट उद्धार गर्नुहोस्, क्लिनिकमा जाँदा यहाँ उपचार हुँदैन, अस्पताल गएर शल्यक्रिया गर भन्छ, न कम्पनीले तलब दिन्छ न त उपचार नै गर्छ, म यतिकै मर्ने भएँ,’ उनले लेखेका छन्, ‘बिन्ती गर्छु, मलाई सहयोग गर्नुहोस्, यहाँ मेरो खोक्रो शरीर मात्र भएको छ, कम्पनीले घर जान दिँदैन, क्यान्सिल गर घर जान्छु भन्दा कुरै सुन्दैन अब म के गर्नु ? कसरी नेपाल फर्किनु ?’

लिम्बूले ‘नेपालमा रहेको म्यानपावरलाई सम्पर्क गर्दा हामी कम्पनीसँग कुरा गर्छौं भन्ने मात्र गरेको’ भन्दै ‘आफ्नो अवस्था झनझन् नाजुक हुँदै गरेकाले तत्काल उद्धार गरी स्वदेश फर्काउन’ नेपाल सरकार, त्यहाँस्थित नेपाली दूतावास र त्यहाँ रहेका क्रियाशील नेपाली संघसंस्थालाई अपिल गरेका छन् ।

उनले आफ्नो अवस्था बुझ्न अल खवानिज–२ जेएफएम क्याम्पमा आउनसमेत अनुरोध गरेका छन् । यता, उनलाई पठाउने एजेन्ट भिम देवान भन्छन्, ‘त्यो भाइ बिरामी भएको जानकारी पाएका छौं, म्यानपावरका डाइरेक्टर राज कार्कीले कम्पनीसँग कुरा गरेर उतै उपचार सम्भव भए गराउने नभए नेपाल फिर्ता ल्याउन पहल गर्नेछौं ।’