२१ जेष्ठ २०८३, बिहिबार

पाकिस्तानी क्रिकेटमा अर्को झट्का, अशरफले दिए पीसीबीबाट राजीनामा

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ माघ । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई फेरि ठूलो झट्का लागेको छ । बोर्डका अध्यक्ष जाका अशरफले आफ्नो पदबाट राजीनामा दिनुभएको छ ।

अशरफले शुक्रबार लाहोरमा व्यवस्थापन समितिको बैठकको अध्यक्षता गरेपछि राजीनामाको घोषणा गर्नुभएको हो ।

गत वर्ष जुनमा नजम सेठीले राजीनामा दिएपछि उहाँले पीसीबी प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । असरफको अध्यक्षतामा बसेको समितिको बैठकमा उहाँले पीसीबी सदस्यहरू र संरक्षक कार्यवाहक प्रधानमन्त्री अनवर उल हकलाई आफ्नो छोटो कार्यकालमा सहयोग गरेकोमा धन्यवाद दिनुभयो ।

पाकिस्तानी जियो न्यूजको एक समाचार अनुसार पूर्वअध्यक्ष जाका अशरफले सरकारका कारण पाकिस्तानको क्रिकेटमा काम गर्न नसकिएको पनि बताउनुभएको थियो । अशरफले भन्नुभयो, ‘मैले क्रिकेटको सुधारका लागि काम गरिरहेको थिएँ, तर हाम्रो लागि त्यस्तो काम गर्न सम्भव छैन । अब मेरो ठाउँमा प्रधानमन्त्री र उहाँले कसलाई मनोनयन गर्नुहुन्छ भन्ने कुरामा भर छ ।’

जाका अशरफ अघि मिकी आर्थर, ग्रान्ट ब्राडबर्न र एन्ड्रयू पुटिकले लाहोरको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए) बाट राजीनामा दिनुभएको थियो ।

गत वर्ष जाका अशरफको नियुक्तिपछि पाकिस्तानले कुनै पनि ठूलो उपाधि जित्न सकेको छैन । राष्ट्रिय क्रिकेट टोली एसिया कपको फाइनलमा पुग्न असफल भयो र पछि भारतमा भएको एकदिवसीय विश्वकपमा लिग चरणबाट पनि बाहिरियो।

विश्वकपमा पराजयपछि बाबर आजमले कप्तानीबाट राजीनामा दिनुभएको थियो र उहाँको स्थानमा शान मसूद (टेष्ट) र शाहिन अफ्रिदी (टी–२०) ले कप्तानी गर्नुभएको छ । पूर्व कप्तान मोहम्मद हफिज पाकिस्तानी टिमको निर्देशकमा नियुक्त हुनुभएको छ । अब नयाँ राष्ट्रपति आएपछि यी पदमा फेरि परिवर्तन देखिन सक्छ ।

पछिल्लो १४ महिनामा पाकिस्तान क्रिकेट बोर्डका तीन अध्यक्षले राजीनामा दिएका छन् । रमीज राजाले डिसेम्बर २०२२ मा, नजम सेठीले २०२३ जुनमा र अब जाका अशरफले राजीनामा दिनुभएको छ ।

जब–जब यी राजीनामाहरू भएका छन्, पाकिस्तान क्रिकेट बोर्डका सदस्य र खेलाडीहरूको छनोटमा पनि ठूलो परिवर्तन देखिएको छ । अब जाका अशरफ बाहिरिएपछि कस्तो परिवर्तन हुन्छ त्यो पाकिस्तानी क्रिकेट फ्यानका लागि पनि चासोको विषय बनेको छ ।