शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

कन्सर्टमा दुई घण्टा ढिला भएपछि म्याडोनाविरुद्ध मुद्दा

दैनिक नेपाल २०८० माघ ६ गते ८:४३

काठमाडौं, ६ माघ । अमेरिकी गायिका म्याडोनाका दुई प्रशंसकहरुले गत महिना न्यूयोर्कमा भएको एक कन्सर्टमा गायिकाले दुई घण्टा भन्दा बढी ढिलो कार्यक्रम गरेको भन्दै अदालतमा मुद्दा दायर गरेका छन् ।

माइकल फेलो र जोनाथन ह्याडेनले दर्ता गराएको मुद्दामा म्याडोनाको तीन रातको कन्सर्ट स्थानीय समयअनुसार २०ः३० मा शुरु हुने भनिए पनि त्यो समयमा नभई २२ः३० मा कन्सर्ट शुरु भएको र १ बजे सकिएको उल्लेख गरेका छन् ।

उनीहरुले कन्सर्ट यति ढिला सकिने थाहा पाएको भए आफूहरुले टिकट नकिन्ने उल्लेख गरेका छन् । ‘कन्सर्टमा सहभागी धेरै टिकटधारीहरु काममा जान वा भोलिपल्ट आफ्नो पारिवारिक जिम्मेवारी सम्हाल्न चाँडै उठ्नुपथ्र्यो’, मुद्दामा भनिएको छ । उनीहरुले आयोजक लाइभ नेसन र कन्सर्ट स्थल बार्कलेज सेन्टरलाई पनि ‘झुटो विज्ञापन, लापरवाही, अनुचित र भ्रामक व्यापार अभ्यास’ गरेको भन्दै मुद्दा हाल्ने तयारी गरेका छन् । फेलो र ह्याडेन गत डिसेम्बर १३ को दिन कन्सर्टमा उपस्थित थिए । तर कानूनी कागजात हेर्दा त्यो स्थानमा १४ र १६ डिसेम्बरमा पनि दुई घण्टा ढिला कार्यक्रम शुरु भएको थियो ।

‘प्रतिवादीहरुले टिकटबाहकलाई दुई घण्टा ढिलो गरी कन्सर्ट सुरु हुनेछ भनेर सूचना दिन असफल भएका थिए । जसकारण टिकट बाहकले केही घण्टा पर्खनु परेको थियो’, मुद्दामा भनिएको छ ।

मुद्दाको पत्रमा म्याडोनाले यसअघि पनि धेरै कन्सर्टमा ढिलो गाउने गरेको उदाहरण उल्लेख गरिएको थियो । जसअनुसार सन् २०१६ को रेबेल हर्ट टुर, २०१९–२०२० को म्याडेम एक्स टु र त्यसअघिका टुरमा पनि उनले ढिलो आइपुग्ने, कन्सर्ट ढिलो गर्ने गरेको उल्लेख छ ।

फ्यानहरुले म्याडोनाको कन्सर्ट ढिलो भएकोमा आपत्ति जनाएको यो पहिलोपटक होइन । सन् २०१९ मा एक प्रशंसकले युएस शोमा ढिलाई गरेको भन्दै म्याडोनाविरुद्ध मुद्दा दर्ता गराएका थिए । तर, एक महिनापछि उनले स्वेच्छाले मुद्दा फिर्ता लिए । सोही वर्ष म्याडोनाले एक लाइभ कन्सर्टको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन् । त्यहाँ उनले ‘त्यहाँ केही कुरा छ, जुन सबैले बुझ्न आवश्यक छ । र त्यो हो, रानी कहिल्यै ढिलो हुँदैन’ म्याडोनाले भनेकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित