सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

क्यानडामा नेपाली विद्यार्थीको उद्वार

दैनिक नेपाल २०८० माघ ३ गते २२:०४

शिशिर सिंखडा, टोरण्टो-

काठमाडौं, ३ माघ । पढ्नका लागि क्यानडा पुग्नुभएका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिदार्थनगर नगरपालिका वडा नम्बर ८, बुद्धपथ, भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो ।

अध्ययनका लागि क्यानडा आउनुभएका श्रेष्ठमा पढाईको अतिरिक्त आफूले सोचे जस्तो काम नपाएपछि मानसिक विचलन देखा परेको थियो ।
करिब १ बर्ष अगाडि सफ्टवेयर टेक्नोलोजी विषय पढ्न सेन्टेनियल कलेज, स्कारब्रो, टोरण्टो आउनुभएका श्रेष्ठ डिप्रेसनमा पर्नुभएको उहाँका साथी सागर मानन्धरले जानकारी दिनुभयो । शुरूवातमा उहाँको व्यबहार राम्रो भएपनि पछि मानसिक समस्या देखा परेको थियो । कोठा भाडासमेत तिर्न नसकेर समस्यामा परेको थाहा पाएसँगै एनआरएनए क्यानडाका कार्यसमिति सदस्य कमल ज्ञवालीले आइतबार दिउँसो ४ बजे श्रेष्ठको उद्दार गर्नुभएको हो ।

एनआरएनए क्यानडाका कार्य समिति सदस्य ज्ञवालीले नेपालमा श्रेष्ठको परिवारलाई सम्पर्क गरी हिजो नेपाल पठाउनु भएको थियो । कतार एयरवेज मार्फत उहाँ आज बुधबार बिहान काठमाडौं पुगेको ज्ञवालीले जानकारी दिनुभयो । श्रेष्ठको उद्धार गर्नको लागि क्यानडामा रहेका अजय कार्कीको सहयोग रहेको ज्ञवालीले बताउनुभयो । क्यानडा प्रहरीले श्रेष्ठलाई बेवारिसे अवस्थामा भेटेर सिबिक हस्पिटल, ब्राम्पटन पुर्‍याएको जानकारी पाए लगत्तै ज्ञवालीले उहाँको उद्धार गरी नेपाल पठाउन सफल हुनुभएको हो ।

क्यानडामा विद्यार्थीले काम पाउन मुस्किल छ– एनआरएनए क्यानडा

‘क्यानाडामा अहिले नेपाली नयाँ विद्यार्थीहरुको अवस्था अत्यन्तै भयावह छ । तपाईँ हामीले सोचेको भन्दा पनि धेरै । कलिला साना साना भाई बहिनिहरु जसले नेपाल हुदा खाना सम्म बनाउन परेन । एउटा ठूलो सपना बोकेर नेपाल छोडी आएका छन । यहाँ आइसके पछि एकातिर कोठा भाडा, खानाको समस्या, कामको समस्या अर्को तिर नेपालबाट करिब २५ लाख रुपैयाको ऋणको बोझ । बाबु आमाले बिहानै बेलुकी सोध्ने प्रश्न “काम पाइस् कि नाई ?” अर्को तिर कलेजको फि तिर्नुपर्ने दिन नजिकिदै गर्दा क्यानडा आएका कतै तपाई हाम्रा छोरा छोरी भाई बहिनि भान्जा भान्जी टाउको भरी येत्रो समस्या बोकेर हिड्दा मानसिक समस्या मा त छैनन् ? उनीहरुलाई खाना खायो कि खाएन ? पढाईको कत्तिको प्रेसर छ भन्ने सोध्ने गरौ जागिरको तनाब नदिँउ, जागिर पाए पछि गर्छन उनीहरुलाई झनै पीर छ आफ्नो भबिष्यको’, एनआरएनए क्यानडाका सदस्य कमल ज्ञवालीले भन्नुभयो ।

एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले विद्यार्थीहरुका लागी क्यानडामा काम पाउन मुस्किल हुँदै गएको बताउनुभयो। ‘विद्यार्थी श्रेष्ठको समस्याबारे जानकारी हुनासाथ हामीले तत्कालै हाम्रा सदस्य कमल ज्ञवाली मार्फत उद्धारको पहल गरेका हौं,’ उहाँले भन्नुभयो । क्यनडामा विद्यार्थीलाई पूरा समय काम गर्ने अनुमती नभएको र हप्ताको २० घण्टामात्रै काम गर्न पाउने सरकारी नियम रहेको उहाँले जानकारी दिनुभयो ।

‘काम दिने कम्पनी अथवा संस्थाले पनि विद्यार्थीलाई काम दिन असाध्यै गाह्रो मान्छन, पढाईको अतिरिक्त काम पाउन र गर्न पनि त्यतिकै गाह्रो छ,’ अध्यक्ष दुलालले भन्नुभयो ।

करिब ५ महिना त यहाँ हिउँ पर्ने गर्दछ । समर सिजनमा केही काम पाउन सहज भएपनि क्यानडामा अन्तर्राष्ट्रिय विद्यार्थीको चाप दिनदिनै बढेको कारण अभिवावकले विद्यार्थीलाइ कामको र पैसा कमाउने प्रेसर नदिन अनुरोध समेत गर्नुभएको छ । यहाँको पढाइ सकेपछि भने विद्यार्थीले पढेअनुसार काम पाउन भने सजिलो रहेको एनआरएनए क्यानडाका अध्यक्ष दुलालको भनाइ छ ।

‘हामीले हरेक सिटी र प्रोभिन्समा रहेका एनआरएनएका कार्यसमिति तथा अग्रज साथीहरुलाई नेपाली विद्यार्थीहरुको समस्यामा साथ दिन र सक्दो पहलको लागि अनुरोध समेत गरिरहेका छौँ, उहाँले भन्नुभयो ।

(फोटो– एनआरएनए क्यानडाका सदस्य ज्ञवालीको साथमा साहिल श्रेष्ठ)
(पत्रकार सिंखडा हाल क्यानडामा रहेका हुनुहुन्छ ।)

प्रतिक्रिया
सम्बन्धित