२२ असार २०८३, सोमबार

‘विवाह लाइसेन्स’को व्यवस्था गर्न आवश्यक : आरजु राणा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनुभएको छ ।

संघीय संसदको कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको सभापतिसमेत रहनुभएको उहाँले बिहीबार ललितपुरको एक कार्यक्रममा सानै उमेरमा हुने विवाह रोक्नको लागि विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताउनु भएको हो ।

उहाँले विवाह गर्नको लागि पहिला नै लाइसेन्स लिनुपर्ने व्यवस्था गर्नसके कम उमेरमा विवाह गर्ने र विवाहको नाटक गरेर बेच्ने परिपाटी अन्त्य हुने बताउनुभयो ।

विवाह गर्नको लागि लाइसेन्स लिन नागरिकता र अन्य तथ्यहरु आवश्यक हुने भएकाले बालविवाह रोक्न यसले मद्दत गर्ने उहाँले उल्लेख गर्नुभयो । त्यसका लागि वडा तहदेखि नै कानूनी रुपमा नीति बनाउन आवश्यक रहेकोसमेत उहाँको भनाई छ ।

अन्तर्राष्ट्रिय धेरै देशहरुमा विवाह अगाडि लाइसेन्स लिनुपर्ने व्यवस्था रहेको बताउँनुहुँदै उहाँले बालविवाह, महिला हिंसा, बलात्कार जस्ता विकृतिहरु रोक्नको लागि कानून नै एकमात्र विकल्प हुनेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘विवाहको लागि लाइसेन्स लिने व्यवस्था राम्रो हुन्छ । यो वडामा नै ल्याउन सकिन्छ । यो एउटा चलन किन शुरु नगर्ने त ? २०३० सम्म जुन च्यालेन्ज मिट गर्ने हो । यो गर्न सोसल इन्जिनियरिङले मात्रै पुग्दैन । लिगल केही कुरा ल्याउन सकियो भने हुन्छ । विवाह दर्ता गर्न पहिला नै लाइसेन्स लिनुपर्यो ।’

उनले पहाडी जिल्लाहरुमा विद्यालय उमेरमै विवाह गरिदिने चलन रहेको जनाउँदै अभिमुखिकरणमा जोड दिनुपर्ने पनि बताउनुभएको छ ।