आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

‘तपस्वी’ को भेषमा विलासी जीवनशैली !

दैनिक नेपाल २०८० पुष २६ गते ७:१०

काठमाडौं, २६ पुस । यौन हिंसा, हत्या र मानिसहरू बेपत्ता पारेकालगायतका विभिन्न आरोपमा मंगलबार साँझ राजधानीको हात्तीगौंडाबाट पक्राउ परेका रामबहादुर बम्जनलाई बुधबार दिउँसो पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । ‘लिटिल बुद्ध’को ‘उपाधि’ पाएका बम्जन पक्राउसँगै प्रहरीले उनीमाथि लागेका आरोप एकीकृत गर्ने काम अघि बढाएको छ । साथै, बम्जन पक्राउका लागि ‘अपरेसन ब्लु’ चलाएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उनको पछिल्लो भद्दा जीवनशैली पनि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ ।

चार जना व्यक्ति बेपत्ता, एकको हत्या र अनुयायीमाथि यौन शोषणको आरोप लागेपछि बम्जन लामो समयदेखि फरार रहेका थिए । ७७ वटै जिल्लाका प्रहरीलाई सजग गराई केही वर्षयतादेखि तीव्रताका साथ बम्जनको खोजी गरिँदै आए पनि उनी प्रहरीलाई छक्याउन सफल भइरहेका थिए । बम्जनलाई पक्राउ गर्न नसकेको भन्दै आलोचना खेपिरहेको सीआईबीले उनलाई पक्राउ गर्न ‘अपरेसन ब्लु’ चलाएको थियो ।

सीआईबीका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार ‘अपरेसन ब्लु’ अभियानअन्तर्गत उनलाई काठमाडौंको हात्तीगौंडास्थित घरबाटै पक्राउ गर्न प्रहरी सफल भएको हो । त्यसो त बम्जनको पक्राउका लागि गएको प्रहरी विगतमा पटकपटक उनको नजिक पुगेको थियो । तर, प्रहरीलाई छक्याउँदै उनी पक्राउ हुनबाट जोगिदै आएका थिए ।

मंगलबार साँझ सीआईबीको टोली पक्राउका लागि घरभित्र छिरेको जानकारी पाएपछि पनि बम्जनले भाग्नका लागि प्रयास नगरेका भने होइनन् । तर, उनको यसपटकको प्रयास भने सफल हुन सकेन । प्रहरीका अनुसार उनी बसिरहेको घरको चौथो तलाको झ्यालबाट हामफालेर भाग्न तम्तयार भइसकेका थिए । तर, सीआईबीले अन्य तीनवटा टोली तैनाथ गरेर उनलाई उम्किने मौका नै दिएन ।

‘घरभित्र प्रवेश गरी पक्राउ गर्ने क्रममा ‘आफू बस्दै आएको घरको चौथो तल्लामा रहेको दक्षिणतर्फ झ्यालबाट खाली रहेको भिरालो जमिनमा हामफाली भाग्नेक्रममा यस ब्युरोको टोलीले निजलाई पक्राउ गरेको,’ प्रहरीको विज्ञप्तिमा भनिएको छ ।

प्रहरीका अनुसार बम्जन दुई महिनादेखि आफ्नी श्रीमती र परिवारसहित काठमाडौंमा बस्दै आएको खुलेको छ । प्रहरीका अनुसार बम्जनविरुद्ध चार जनालाई बेपत्ता बनाएको, एक जनाको हत्या गरेको र एक अनुयायीमाथि यौन हिंसा गरेको उजुरी छ । बाराको निजगढ नगरपालिका–१२ का स्थायी बासिन्दा रहेका बम्जनले आफू तपस्वी भएको बताउँदै आएका थिए । तर, उनकै आश्रमबाट अनुयायीहरू बेपत्ता पारेका विभिन्न उजुरी प्रहरीमा परेका थिए ।

सीआईबीका प्रवक्ता एसपी अधिकारी भन्छन्, ‘उनीमाथि आश्रममा बस्दा त्यहाँ काम गर्ने विभिन्न युवतीलाई शोषण गरेको, बेपत्ता गराएको लगायतका आरोप छन्, धेरै ठाउँबाट जाहेरी परेकाले प्रहरीले त्यसलाई एकीकृत पार्ने काम भइरहेको छ, त्यस्तै जाहेरी विवरण जुटाउने काम पनि भइरहेको छ, जहाँजहाँबाट जाहेरी परेको छ, त्यहीँबाट कानुनी प्रक्रियाबमोजिम बम्जनविरुद्ध मुद्दा चल्नेछ ।’

एसपी अधिकारीले भनेझैं उनलाई सर्लाही लगेर मुद्दा अघि बढाउने तयारी छ । सर्लाही जिल्ला अदालतले उनीमाथि पक्राउ पुर्जी जारी गरिसकेकाले उनलाई त्यहाँ लगिएको हो । हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २३ माघ २०७६ मै बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो । सीआईबीले बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा विचाराधीन रहेको बालयौन दुराचारको मुद्दासहित अन्य कसुरहरूमा पनि अनुसन्धान हुने जनाएको छ ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यले बम्जनविरुद्ध गैरकानुनी विदेशी मुद्रा राखेको विषयमा पनि अनुसन्धान भइरहेको बताए । ‘थप कुराहरू खुल्यो भने त्यस’bout पनि अनुसन्धान हुँदै जान्छ, अनुसन्धान प्रारम्भिक चरणमै छ,’ एसएसपी आचार्यले भने, ‘बरामद भएको रकमको विषयमा नगद तथा विदेशी मुद्राका लागि छिट्टै अनुसन्धान गरिनेछ, यो कहाँबाट आयो ? कसरी आयो ? यत्रो ठूलो पैसा घरमा राख्नुलाई साधारण अवस्था मान्न सकिँदैन । आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित