
विराटनगर, २५ पुस । कोशी प्रदेशसभाको चौथो अधिवेशन अन्त्य भएको छ । मंगलबार भएको सभामुखको निर्वाचनपछि बुधबार राति १२ बजेबाट अधिवेशन अन्त्य गरिएको हो ।
कोशी प्रदेश मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले प्रदेशसभाको चालू चौथो तथा हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेको थियो ।
सिफारिसपछि प्रदेश प्रमुख खापुङले अधिवेशन अन्त्य भएको सूचना जारी गर्नुभएको हो । साउन १६ गते तत्कालीन सभामुख बाबुराम गौतमले राजीनामा दिएपछि रिक्त रहेको पदका लागि मंगलबार निर्वाचन भएको थियो ।
कोशी प्रदेशसभाको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अम्बरबहादुर विष्ट निर्विरोध चयन हुनुभएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिससँगै राष्ट्रिय दलित आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०८९–०८० को प्रदेशसभामा पेश गर्ने निर्णयसमेत गरेको छ ।
यसैगरी, कोशी प्रदेश कर तथा गैरकर सम्बन्धी विधेयक मस्यौदा तर्जुमाका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक तथा कानूनमन्त्री शम्शेर राईले बताउनुभयो ।








प्रतिक्रिया