आइतबार, ६ जेठ २०८१
DainikNepal.com
आइतबार, ६ जेठ २०८१

सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन…

दैनिक नेपाल २०८० पुष २२ गते ८:०७

काठमाडौं, २२ पुस । सानु तिम्ले नमाने टेन्सन, बाँचे तलब मरे पेन्सन लाहुरे सिपाही दाइ भन्दै रुसी सेनामा भर्ती भएका स्याङ्जाका हरिप्रसाद अर्यालको मृत्यु भयो । अक्टोबर १५ मा फेसबुक स्टाटस लेख्दै यसरी हाँस्नुस् कि जिन्दगी फर्केर आओस् । मरुभूमिमा पनि पानी फर्केर आओस् । मनमा खुसी कहिल्यै छैन, केही त गर्नैपर्छ कि हाँसो फर्केर आओस् भनेर लेखेका थिए ।

अक्टोबर २८ तारिखका दिन पनि रुसी सेनाको पोसाकमा सजिएर आफैंले गीत गाउँदै हरि अर्यालले फेसबुकको रिल्समा भिडियो पोस्ट गरेका थिए । भिडियो पोस्ट गरेको २ महिनामै रुस र युक्रेनबीचको युद्धमा परेर अर्याल सदाका लागि संसारबाट बिदा भएका छन् । समयले जहाँ पुर्‍याए पनि हाँस्न र रमाउन छोडिएन । माया र लडाइँमा सबै कुरा जायज हुन्छ भन्थे होइन रहेछ भन्ने उनी अहिले भने अस्ताएका छन् आजको राजधानी दैनिकमा खबर छ ।

नेपाली सेनामा भर्ती भएका उनी तीन वर्ष नपुग्दै सेनाको जागिर छोडेका थिए । गत कात्तिक ३ गते उनी एक एजेन्टमार्फत भिजिट भिसामा दुबई हुँदै रुस पुगेर रुसी सेनामा भर्ती भएका थिए । सामाजिक सञ्जाल फेसबुकमा निकै सक्रिय थिए ।

उनी डिसेम्बर ४ मा हतियारसहित गुडिरहेको रुसी सेनाको गाडीमा सहकर्मीसँग भिडियो बनाउँदै लेखेका थिए, ‘यस्तै छ जिन्दगी, बाँचे भेट मरे त यत्तिकै ।’ त्यसै दिनदेखि उनी परिवार र आफन्तको सम्पर्कमा आएनन् । त्यसपछि सम्पर्कमा नआएका उनको मृत्युको खबर आएपछि अहिले उनको गाउँ नै शोकाकुल बनेको छ ।

रुसी सेनामा भर्ती भएका नेपाली र तिनका परिवारले रुसी राहदानी र नागरिकता पाउने

रुसी सेनामा भर्ती हुन गएका नेपालीहरूले रुसको नागरिकता र राहदानी पाउने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन द्वन्द्वको समयमा देशको सशस्त्र बल वा अन्य सैन्य एकाइमा सेवाका लागि साइन अप गर्ने विदेशीलाई रुसी राहदानी प्राप्त गर्ने अधिकार प्रदान गर्ने आदेशमा हस्ताक्षर गरेको रुसी सरकार नियन्त्रित टेलिभिजन नेटवर्क आरटीले जनाएको छ ।

विदेशी नागरिकका लागि रुसी आईडी सुरक्षित गर्न आवेदन सम्बन्धित कागजात आन्तरिक मन्त्रालयमा पेस गरेपछि एक महिनाभित्र विचार गर्नुपर्छ । केही डाटालाई थप प्रमाणीकरणको आवश्यकता परेको अवस्थामा म्याद तीन महिनासम्म बढाउन सकिने जनाएको छ । सूचना नीतिमा राज्य ड्युमा समितिका प्रमुख अलेक्जेन्डर खिन्स्टाइनका अनुसार यस कदमले रुसका लागि लडाइँमा भाग लिएका विदेशीलाई अन्य देशमा सुपुर्दगी गर्नुपर्ने समस्या समाधान गर्न मद्दत गर्न सक्छ ।

नोभेम्बर २०२२ देखि विदेशीलाई रुसी सेनासँग सम्झौतामा हस्ताक्षर गर्न अनुमति दिइएको छ । यद्यपि, प्राकृतिकीकरणका लागि सरलीकृत मार्ग पहिले मात्र कम्तीमा एक वर्षको सेवामा प्रतिबद्ध भएकालाई मात्र लागू गरिएको थियो ।

गत महिना, रुसी रक्षामन्त्री सर्गेई सोइगुले भनेका थिए कि देशको सैन्य एकाइमा सामेल हुने ‘विदेशी स्वयंसेवकहरू’ को संख्या गत वर्षको तुलनामा सात गुणा बढेको छ । उनले यकिन संख्या भने खुलाएनन् ।

बिहीबार पनि, रुसी रक्षा मन्त्रालयले युक्रेनी पक्षमा लडिरहेका विदेशी भाडाको तथ्यांक प्रकाशित ग¥यो । यसको अनुमानअनुसार, २०२२ को फेब्रुअरीमा मस्को र कीभबीचको द्वन्द्व सुरु भएदेखि १३ हजार ५ सयभन्दा बढी सैनिक देशमा आइपुगेका छन् ।

कुल ५ हजार ९ सय भाडाका सैनिक मारिएका छन् भने ५ हजार ६ सयभन्दा बढी युद्धक्षेत्रबाट भागेका छन् । मन्त्रालयका अनुसार हाल युक्रेनी सेनाको श्रेणीमा विदेशीको संख्या १ हजार ९ सयभन्दा बढी रहेको छ । रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न ३ देखि ४ हजार जनासम्म नेपाली रुसी सेनामा भर्ती भएका त्यहाँ रुसी सेनामा कार्यरत नेपालीले बताउने गरेका छन् ।

रुसी सेनामा पठाउने दुई ट्राभल्सका सञ्चालक पक्राउ

रसियामा आकर्षक तलब हुने प्रलोभन देखाउँदै ठगी गर्ने कार्यमा संलग्न दुई जना पक्राउ परेका छन् । होटेलमा आकर्षक तलब हुने भन्दै ६ लाख असुलेर त्यहाँ पुर्‍याएपछि सेनामा भर्ती गराउन खोज्ने अलास्का ट्राभल्सका सञ्चालक गोरखाका अर्जुन श्रेष्ठ भनिने अर्जुन सुनार र सोलुखुम्बुका शेखर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनीहरूले शंकर कार्की, राजन राई र विकास राईलाई रसिया पठाएका थिए । रसिया पुगेपश्चात् पनि शंकर कार्कीलाई रिसिभ गर्ने व्यक्तिले थप ८ सय डलर लिएका थिए भने त्यसपछि उनले रसियन आर्मीमा भर्ती हुनुपर्छ भनेका थिए । तर, कार्कीले आफू आर्मीका लागि नआएको बताए पनि दलालले होटेलमा कुनै काम नभएको र आर्मीका लागि बोलाएको बताएका थिए ।

त्यसपछि शंकर कार्कीले रसिया आर्मीमा काम नगर्ने भन्दै फर्किएर प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानका क्रममा एसएसली मात्रै पास गरेका कार्कीको सबै नक्कली कागजातसमेत ट्राभल्सवालाले नै बनाइदिएको खुलेको प्रहरी उपरीक्षक रेग्मीले बताए । साथै राजन राई र विकास राईलाई रसिया आर्मीमा भर्ना गरिएको खुल्न आएको उनले बताए ।

प्रतिक्रिया
सम्बन्धित