शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

अमेरिकामा १ सय ७७ जना यात्रुसहित उडिरहेको विमानको झ्याल खसेपछि…

दैनिक नेपाल २०८० पुष २१ गते १६:१६

काठमाडौं, २१ पुस । १७७ जना यात्रु बोकेको अमेरिकी विमान शुक्रबार राति उडानका क्रममा झ्यालसहितको संरचनाको केही भाग खसेपछि आपतकालीन अवतरण गर्न बाध्य भएको छ ।

बीबीसीका अनुसार अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ क्यालिफोर्नियाको उडानको ३५ मिनेटमा पोर्टल्याण्ड फर्किएको थियो र यसको बाहिरी भाग खसेको थियो । घटनामा कोही पनि गम्भीर घाइते नभएको बुझिएको छ र अलास्का एयरलाइन्सले भने जहाजमा रहेका १७७ यात्रु र चालक दल सुरक्षित अवतरण भएको जनाएको छ ।

झ्याल नै खसेपछि विमानभित्र खैलाबैला मच्चिएको थियो भने हावाको चापका कारण विमानलाई नियन्त्रणमा राख्न चालक दलका सदस्यलाई हम्मे हम्मे परेको थियो । यो घटनापछि अलास्का एयरलाइन्सले बोइङ ७३७ म्याक्स ९ सिरिजका सबै ६५ वटा विमानलाई निरीक्षण गर्न अस्थायी रूपमा ग्राउन्डेड गरिएको जनाएको छ ।

सबै जहाजको परीक्षणपछि मात्रै उडान हुनेछ । विमान निर्माता कम्पनी बोइङले घटनाको बारेमा जानकारी भएको र थप जानकारी संकलन गर्न काम गरिरहेको बताएको छ ।

अलास्का एयरलाइन्सका सीईओ बेन मिनिकुचीले १६ हजार फिट उचाइमा रहेको जहाजबाट झ्याल खसे पनि सुरक्षित अवतरण गराएको भन्दै चालक दलका ६ जना सदस्यको प्रशंसा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित