
काठमाडौं, २० पुस । नेपाली सुरक्षा निकायका अधिकारीहरूले आफ्ना बहालवाला वा भूतपूर्व कर्मचारीहरू विदेशी सेनामा काम गर्न गएकोबारे आफ्नो निकायलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
सरकारले रुसी सेनामा भर्ती भएका नेपाली नागरिकहरूलाई फर्काउन पहल गरिरहेको बताइरहँदा युक्रेन(रुस युद्धमा मारिने नेपाली नागरिकहरूको सङ्ख्या १० पुगेको बताइएको छ।
रुसी सेनामा गएका थप चार जना नेपाली युवाहरू युक्रेनमा बन्धक भएको विवरण आएका छन्।
रुसी सेनामा रहँदा मारिएका र भर्ती भएर फर्किएका कतिपय नेपालीहरू सुरक्षा निकायका बहालवाला र पूर्व कर्मचारीहरू समेत रहेको विवरण आएका छन्। नेपाल प्रहरीका एक जना कर्मचारीले सेवाबाट केही समयका लागि बिदा लिएर रुसी सेनामा भर्ना भएको र त्यहाँबाट भागेर नेपाल फर्किएको बयान सार्वजनिक सञ्चार माध्यममा दिएका छन्।
सुरक्षा निकायकै बहालवाला र पूर्व कर्मचारीहरूलाई नेपाल सरकारले प्रतिबन्ध लगाएको विदेशी सेनामा भर्ती हुने क्रम रोक्न नसकेको भन्दै कतिपयले सरकार र सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन्। नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले अवकाश पाइसकेका वा जागिर छोडेर गएका पूर्व प्रहरीहरूले गर्ने पेसा व्यवसायमा सङ्गठनसँग सरोकार नहुने बताए।
प्रहरी प्रवक्ता कडायतले ट्राफिक प्रहरीमा कार्यरत एक जना प्रहरी बिदा लिएर रुसी सेनामा भर्ना भएको भन्ने सार्वजनिक सञ्चार माध्यममा आएका विवरणबारे आफूलाई जानकारी नभएको प्रतिक्रिया दिए। ट्राफिक प्रहरीका प्रवक्ता राजेन्द्र भट्टले प्रहरीमा बिदा लिएर लामो समय सम्पर्क विहीन भएका प्रहरीलाई सेवाबाट हटाइएको जानकारी दिए।
पछिल्लो समय रुसी सेनामा रहेर मारिएका स्याङ्जाका हरि अर्याल पनि नेपाली सेनाको जागिर छोडेर बसेका व्यक्ति भएको उनको परिवारले जनाएको छ। यसअघि नेपाल प्रहरीले रुसी सेनामा नेपालीहरूलाई पठाउने गिरोहमा संलग्न भएको दाबी गर्दै १२ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। यसरी पठाउनेमा एक जना नेपाली पूर्वसैनिक समेत रहेको बताइएको थियो।
उक्त गिरोह पक्राउसँगै रुसी सेनामा जाने कैयौँ नेपालीहरू स्वदेशमा प्रहरी वा सेनामा काम गरिसकेका व्यक्तिहरू रहेको दाबी गरिएको थियो।नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारी सङ्गठनलाई पूर्व जानकारी नदिई विदेश जाने र कुनै पनि फौजमा आबद्ध हुने कुराको जानकारी सेनालाई नहुने बताउँछन्।
रुसी सेनामा रहँदा ज्यान गुमाएका दोलखाका सन्दीप थपलिया सशस्त्र प्रहरी बलको जागिर छोडेर रुस पुगेका थिए। सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्का सेवाबाट अवकाश भइसकेको व्यक्तिको संलग्नताबारे जानकारी लिने संयन्त्र आफूहरूसँग नभएको बताउँछन्।








प्रतिक्रिया