
काठमाडौं, १९ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकार विदेशीको इशारामा चलेको आरोप लगाएका छन् ।
नेकपा (एमाले) प्रदेश पदाधिकारीहरूको राष्ट्रिय भेलालाई आज पार्टी कार्यालय, च्यासल, ललितपुरमा सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको गठबन्धनले विदेशसँग मिलेर सरकारमा पुग्ने, उनीहरूकै आशिर्वाद र सहयोगमा सत्ता टिकाइरहने धार पक्रेको बताउँदै गठबन्धनले देशका उपरोक्त मुख्य अभिभारा पूरा गर्न नसक्ने स्पष्ट पारे ।
एमाले सरकारमा जानका लागि हिरिक्क होइन, देशको रक्षा, राष्ट्रियताको रक्षा, सुरक्षित र समृद्ध नेपाल निर्माणको योजना कार्यान्वयनका लागि सरकारमा पुग्नुपर्ने हुँदा मिसन–२०८४ भनिरहेको अध्यक्ष ओलीको भनाइ छ ।
ओलीले एमाले सुरक्षित र समृद्ध नेपाल निर्माणको उद्देश्य र गन्तव्यका साथ अगाडि बढिरहेकाले पार्टीलाई सबल र निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने धारणा व्यक्त गरे । शान्ति सुव्यवस्था, सुशासन र विकाससहितको सुरक्षित र समृद्ध नेपाल पार्टीको चाहना भएको उनले स्पष्ट पारे ।
नेपालमा अहिले बर्ग सङ्घर्ष नयाँ ढङ्गले निकै तीब्रताका साथ चलिरहेको र एमाले क्रान्तिकारी सङ्क्रमणको बाटोमा रहेको बताउँदै उनले प्रतिक्रियावादी शक्तिहरू बल प्राप्तिका लागि गठजोड गरिरहेको धारणा व्यक्त गरे ।








प्रतिक्रिया