सोमबार, १७ वैशाख २०८१
DainikNepal.com
सोमबार, १७ वैशाख २०८१

नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ

दैनिक नेपाल २०८० पुष १४ गते १५:११

काठमाडौं, १४ पुस । नेपालमा ११ प्रतिशत महिलाको पाठेघरको मुखको क्यान्सरको पहिचान ‘स्क्रिनिङ’ गरिएको छ । पाठेघरको मुखको क्यान्सर पत्ता लगाउनका लागि ३० देखि ४९ वर्ष उमेर समूहका महिलामा गरिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय परिवार कल्याण महाशाखाका वरिष्ठ कम्युनिटी प्रशासक कविता अर्यालले स्क्रिनिङ गरिएकामध्ये सात प्रतिशतमा पाठेघरको मुखको क्यान्सर देखिएको जानकारी दिइन् । उनका अनुसार ललितपुर, पाल्पा, सर्लाही, महोत्तरी र रौतहट जिल्लामा उक्त स्क्रिनिङ गरिएको छ ।

सरकारले सन् २०३० सम्म ९० प्रतिशत महिलाको महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ ।

पाठेघरको क्यान्सर विश्वमा पाँचौँ नम्बरमा र नेपालमा पहिलो नम्बरमा पर्दछ । उनका अनुसार पाठेघरको मुखको क्यान्सरबाट विश्वमा दिनमा चार जनाको मृत्यु हुने गरेको छ । सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउनका लागि १० वर्षदेखि १४ वर्ष उमेर समूहका करिब १० हजार किशोरीलाई गत भदौ २७ गते एचपिभी खोप अभियान सञ्चालन गरेर खोप लगाइको थियो । महिलामा असुरक्षित यौनसम्पर्क, धुम्रपान र सानै उमेरमा विवाह गर्ने जस्ता कारणले पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।

सरकारले सन् २०३० सम्ममा पाठेघरको मुखको क्यान्सर उन्मूलनका लागि ९० प्रतिशत महिलालाई १५ वर्षको उमेरभित्र एचपिभि खोप लगाउने, ७० प्रतिशत महिलाहरुको ३५ वर्ष उमेरमा एक पटक खोप लगाउने र फेरि ४५ वर्ष उमेरमा स्क्रिनिङ्ग गर्ने तथा ९० प्रतिशत महिलाको पाठेघरको मुखको रोगको पहिचान गरेर उपचार गर्ने लक्ष्य लिएको छ । यो लक्ष्य पुरा गर्न सक्ने हो भने नेपालमा सन् २०३० सम्ममा ३० प्रतिशत मृत्युदर घटाउन सकिने जनाइएको छ ।

मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम निर्देशिका २०७९ अनुसार ३० वर्षभन्दा माथिका सामान्य महिलाको स्क्रिनिङ र एचआइभी सङ्क्रमित भएका महिलाको २५ वर्ष उमेरदेखि नै पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ गर्ने लक्ष्य लिएको छ । निर्देशिका अनुसार सामान्य महिलाको हरेक पाँच वर्षमा र एचआइभी सङ्क्रमित भएका महिलाको हरेक तीन वर्षमा स्क्रिनिङ गरिने छ ।

स्त्रीरोग क्यान्सर विशेषज्ञ डा. सरिता घिमिरले सुरुमा पाठेघरको मुखको क्यान्सरको लक्षण नदेखिने र पछि क्यान्सर बढेपछि मात्र थाहा पाउने भएकाले बताइन् । उनले महिनावारी नभएको बेला रगत बग्ने, यौग अङ्गबाट रगतसँगै सेतो पानी आउने, यौन सम्पर्कपछि रगत बग्नेजस्ता पाठेघरको मुखमा क्यान्सर भएपछि देखिने लक्षण रहेको बताइन् ।

उनले पाठेघरको मुखको क्यान्सर समयमा नै उपचार गरे ठिक हुने बताइन् । धेरै जसो ४० वर्षमाथिका महिलालाई क्यान्सर हुने सम्भावना रहन्छ । उनले पाठेघर फ्याकेपछि पाठेघरको मुखको क्यान्सर हुँदैन भन्ने गलत धारणाले धेरै महिलाले पाठेघर फालेको समेत बताइन् । “पाठेघर फालेकालाई पनि क्यान्सर हुने सम्भावना हुन्छ”, उनले भनिन् ।

प्रशासक अर्यालले ‘ह्युमन प्यापिलोमा भाइरस’ ९एचपिभी०ले शरीरमा आक्रमण गरेको १५ देखि २० वर्षपछि पाठेघरको मुखको क्यान्सर देखापर्ने बताइन् । “एचपिभी भाइरसलाई हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले भगाउने गर्दछ”, उनले भनिन्, “भाइरसका कारण २० प्रतिशत महिलालाई मात्र क्यान्सर हुने सम्भावना हुन्छ ।” एचपिभी भाइरसले ९९ प्रतिशत र असुरक्षित यौनसम्पर्क, धूमपान तथा सानै उमेरमा विवाह गर्नाले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ । रासस

प्रतिक्रिया
सम्बन्धित