
पाँचथर, ३० मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा पहाडको अवस्था र समस्या बुझेको बताएका छन् ।
अभियान अन्तर्गत शनिबार पाँचथरको फिदिममा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनतामा गुम्दै गएको विश्वास जगाउन एमाले सफल भएको बताए ।
एमाले फुटाउन र सिद्धाउन प्रयास गरिएको भए पनि एमाले त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उनले बताए । ओलीले अब एमालेलाई त्यतिले मात्र नपुगेको बताए । देश विकासको लागि एमालेलाई एकल बहुमतको सरकार आवश्यक रहेको उनले बताए । त्यसले एमालेले मिसन २०८४ भनेको उनले सुनाए ।

एमालेको एउटै उदेश्य र गन्तव्य देशको हित भएको उनले प्रष्ट पारे । त्यसको लागि एमालेलाई प्रमुख र बलिया राष्ट्रिय शक्ति बनाउन उनले आग्रह गरे । ‘एकल बहुमतको सरकार बिना यो समस्या समाधान हुँदैन’, अध्यक्ष ओलीले भने ।
देशमा राजनीतिक, अस्थिरता, अन्योल र अराजकता बढ्दै गएको ओलीले बताए । आर्थिक हिसाबले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उनले बताए । ‘देश कंगाली तर्फ धकेलिँदै छ’, उनले भने ।

एमाले देशको रक्षाको पक्षमा रहेको उनले स्पष्ट पारे । आज सरकारको अयोग्यताको कारण देश नै संकटमा परेको ओलीले बताए । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।
बैतडीको झुलाघाटबाट मंसिर १४ गतेदेखि सुरु भएको यात्रा भोलि पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम रहेको छ ।














प्रतिक्रिया