
काठमाडौं, २८ मंसिर । नेकपा (एमाले)को संकल्प यात्रामा सहभागी हुँदै गृह जिल्ला फर्कने क्रममा संघीय सांसद भगवती चौधरी सवार गाडीमा आक्रमण भएको छ । एमालेकी केन्द्रीय सदस्य समेत रहेकी नेतृ भगवती चौधरी सवार स्करपियो गाडीमा आक्रमण भएको हो ।
उदयपुरको घुर्मीमा एमालेले मंगलबार गरेको ‘संकल्प यात्रा’ कार्यक्रम पश्चात् पारिवारिक शोकका कारण अकस्मात् सुनसरी फर्कने क्रममा सांसद चौधरी सवार गाडीमाथि उदयपुरको चौदन्डीगढीमा राति करिब ९ बजेर २३ मिनेट जाँदा अज्ञात व्यक्तिहरूले आक्रमण गरेका हुन् ।

आक्रमणमा नेतृ चढेको स्करपियोको ड्राइभर साइट तर्फको लुकिङ ग्लास र सिसा फुटेको छ । घटना घट्ने बित्तिकै स्थानीय तथा प्रहरीलाई सहयोग मागेपछि जनपद प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरी चौधरीलाई गृह जिल्ला पठाएको थियो । चौधरीमाथि कसले किन आक्रमण गर्यो खुल्न सकेको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
एमालेको मध्यपहाडी लोकमार्ग अभियान अन्तरगत उदयपुरको घुर्मीको कार्यक्रमसँगै खोटाङ, भोजपुर संखुवासभा हुँदै तेह्रथुम सम्मको अभियानमा सहभागी हुन गएकी चौधरीलाई सोहि दिन पारिवारिक शोकसमेत परेको थियो । नेतृ चौधरीका जेठाजू (मुकेश चौधरी)को ह्दयघातका कारण निधन भएको थियो । दिवंगत चौधरीको पशुपति आर्यघाटमा बुधबार अन्त्येष्ठि गरिएको छ ।
कोशी प्रदेशमा पहिचान पक्षधरहरूले कोशी प्रदेस नामांकनमा असहमति जनाउँदै एमालेका नेता, सांसद तथा कार्यकर्ताहरूमाथि आक्रमण गर्दै आइरहेका छन् । उनीहरुले एमालेको संकल्प यात्रालाई अवरोध गर्न खोजिरेहका छन् । सो क्रममा मंगलबार मात्रै गोपाल किराती सहित १२ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।











प्रतिक्रिया