९ कार्तिक २०८३, सोमबार

दैलेखका सात राजनीतिक दलले एमाले अध्यक्ष केपी ओलीलाई बुझाए आठ बुँदे ध्यानाकर्षणपत्र 

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ मंसिर । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री समक्ष दैलेखका सात राजनीतिक दलहरूले आठ बुँदे ध्यानाकर्षण(पत्र बुझाएका छन् ।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रामा निस्कने क्रममा सोमबार दैलेख सदरमुकाम पुग्नुभएका ओलीलाई जिल्ला समन्वय समिति प्रमुख सहित दैलेखका सक्रिय सात राजनीतिक दलले ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

नेकपा एमालेको पश्चिम बैतडीको झुलाघाटदेखि पूर्व पाँचथरको चिवाभञ्ज्याङ्गसम्मको समृद्धिको लागि संकल्प यात्राको नेतृत्व गरी दैलेख जिल्लाको पावन भूमिमा आएको भन्दै आठ राजनीति दलले एमाले अध्यक्ष एवं एमाले नेताहरूलाई स्वागत गरेका छन् ।

कर्णाली प्रदेशको आर्थिक मेरुदण्डको रूपमा रहेको नेपालगञ्जको जमुनाहा–सुर्खेत–दैलेख–महाबु–कालिकोट–जुम्ला–मुगुको नाग्चेनाङ्गला हुँदै चीन जोड्ने नेपालको अत्यन्तै महत्त्वपूर्ण उत्तर–दक्षिण सडक कम्तीमा दुई लेन हुने गरी निर्माण र स्तरउन्नती र कालोपत्रे गर्ने कार्यमा रकम विनियोजन गरी द्रुत गतिमा सडक निर्माण कार्य ओली प्रधानमन्त्री  हुँदा सुरु भएको स्मरण गराउँदै सो योजनालाई अगाडी बढाउन नेपाल सरकारमा पहल गरिदिन उनीहरूले एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका छन् ।

नेपालको बहुप्रतिक्षित राष्ट्रिय गौरवको योजनाको रूपमा निर्माणाधीन माथिल्लो कर्णाली जलविद्युत आयोजनाको निर्माणको जिम्मा लिएको भारतीय जीएमआर कम्पनीले आयोजनाको डीपीआर तथा सम्झौता भएको लामो समयदेखि हालसम्म पनि आयोजना निर्माणको काम सन्तोषजनक रूपमा नगरेको र काममा ढिला सुस्ती तथा लापरबाही गरी निर्माण कार्य हाल ठप्प भएको हुँदा द्रुत गतिमा आयोजना निर्माण कार्य सञ्चालन गर्न गराउन भारतीय जीएमआर कम्पनी र नेपाल सरकारसँग पहल गरिदिन पनि सात राजनीतिक दलले एमाले अध्यक्षको ध्यानाकर्षण गराएका हुन् ।

ओली प्रधानमन्त्री हुँदा अगाडी बढाइएको नेपाल सरकारको बहुप्रतिक्षित योजनाको रूपमा रहेको दैलेखको पञ्चकोशी क्षेत्रको पेट्रोलियम पदार्थको अन्वेषण तथा उत्खनन् गर्ने कार्य छिटो, छरितो, प्रभावकारी र परिणाममुखी तरिकाले सम्पन्न गर्न गराउन नेपाल सरकारसँग पहल गरिदिन पनि सात राजनीतिक दलले ओली समक्ष अनुरोध गरेका छन् ।

ओली प्रधानमन्त्री भएको बखत पूर्व सम्भाव्यता अध्ययन र निर्माणको लागि नेपाल सरकारको बजेट तथा कार्यक्रममा समेटिएको सुर्खेतको कपासेदेखि दैलेखको माथिल्लो डुङ्गेश्वरसम्मको सुरुङ मार्ग निर्माण योजनालाई कर्णाली प्रदेशको सुरुङ मार्गको सुरुवाती योजनाको रूपमा बजेट विनियोजन गरी निर्माण कार्य अगाडी बढाउनको लागि नेपाल सरकारसँग पहल गरिदिन सात दलले ओलीको ध्यानाकर्षण गराएका हुन् ।

ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, धार्मिक, पर्यटकीय र प्राकृतिक सम्पदाको दृष्टिले नेपालकै अग्रणी जिल्लाको रूपमा चिनिने दैलेख जिल्ला र कर्णाली प्रदेशको पर्यटन विकासको मेरुदण्डको रूपमा रहेका सुर्खेतको काँक्रेविहार, दैलेखको पञ्चकोशी क्षेत्र, ऐतिहासिक कोतगढी, बेलासपुर, महावुगाथ, जुम्लाको चन्दननाथ र मुगुको रारा जस्ता अत्यन्तै महत्त्वपूर्ण पर्यटकीय, धार्मिक तथा प्राकृतिक सम्पदाहरूलाई समेट्ने गरी पर्यटकीय कोरिडोर गुरुयोजना निर्माण गरी ती सम्पदाको संरक्षण, संवर्द्धन र विकास गर्ने कार्यमा आवश्यक पहल गरिदिन पनि दलहरूले अनुरोध गरेका छन् ।

नेपाल सरकारबाट विगतमा स्मार्ट सिटीको रूपमा घोषण भएको दुल्लु नगर क्षेत्र र मध्यपहाडी लोकमार्गका दशवटा महत्त्वपूर्ण साना सहरी विकास योजना मेघा सिटी मध्य पर्ने राकम कर्णाली साना सहरी विकास योजनाको कार्यलाई नेपाल सरकारको उद्देश्य अनुरूप काम सम्पादन गर्न यथेष्ट रकम विनियोजन गरी छिटो छरितो र प्रभावकारी रूपमा काम अगाडी बढाउन नेपाल सरकारसँग आवश्यक पहल गरिदिन उहाँहरूले ओलीलाई अनुरोध गरेका छन् । कर्णाली प्रदेशकै गौरवको योजनाको रूपमा रहेको दैलेखको माथिल्लो डुङ्गेश्वर–दुल्लु–कुसापानी तथा कालिकोटको नाग्म–मुगु हुँदै नाग्चेनाङ्गला चीन जोड्ने पक्की सडकको निर्माण कार्य द्रुत गतिमा अगाडी बढाउनको लागि आवश्यक पहल गरिदिन उनीहरूले माग गरेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि संघीय तथा प्रदेश सांसद तथा स्थानीय तहका प्रमुख र उप–प्रमुखलाई मात्र मताधिकार रहने वर्तमान कानुनी व्यवस्थालाई संशोधन गरी जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखलाई समेत मताधिकार उपलब्ध गराउने आवश्यक कानुनी व्यवस्थाको लागि पहल गरिदिन पनि उहाँहरूले अनुरोध गर्नुभएको छ ।

ध्यानाकर्षण पत्रमा जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाही नेपाली कांग्रेसका जिल्ला सभापति मणिराम रेग्मी, नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष प्रेमबहादुर बुढा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष गोपाल रिजाल राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रणबहादुर सिंह, नेकपा एकीकृत समाजवादीका पार्टीका अध्यक्ष  जंगबहादुर शाही, नेपाल मजदुर किसान पार्टीका सचिव रत्नबहादुर श्रेष्ठ,  नेकपा दैलेखका इञ्चार्ज कलम सिंले हस्ताक्षर गरेका छन् ।