१ कार्तिक २०८३, आइतबार

नेपाल आइपुग्यो भारतले दिएको १५ वटा मुर्रा राँगा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । भारतले अनुदानमा दिएको उन्नत जातको १५ वटा मुर्रा राँगा बुधबार नेपाल आइपुगेको छ ।

गत जेठमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारी भएको थियो । जसअनुसार भारतले नेपालको दुग्ध र मासु विकासका लागि उन्नत जातको मुर्रा राँगा उपलब्ध गराउने घोषणा गरेको थियो ।

नेपाल–भारत कृषि तथा पशुपन्छीको क्षेत्रमा सहकार्यको समझदारीअनुसार मुर्रा प्रजातिको उन्नत नश्लको राँगा नेपालगञ्ज नाका भएर बुधबार नेपाल भित्रिएको पशुसेवा विभागले जनाएको छ । नेपालगन्जको जमुनाहा नाकाबाट ती राँगाहरु नेपाल भित्र्याइएको विभागका महानिर्देशक डा. उमेश दाहालले जानकारी गराएका छन् ।

‘भारतसँगको सहमतिअनुसार मिति २०८०–०८–०६ गते बाँके जिल्ला जमुनाहा नाका हुँदै उक्त राँगाहरु नेपाल भित्रिएको छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विद्यमान क्वारेन्टाइन प्रक्रिया पूरा गरी नेपाल ल्याइने राँगाहरु लाहान, पोखरा र गौघाटस्थित राष्ट्रिय पशु प्रजनन् कार्यालयहरुबाट हाल उत्पादन भइरहेको जमेको वीर्यको परिमाण व्यवस्थापकीय क्षमता र कार्यक्षेत्रको आधारमा भारतबाट प्राप्त हुने १५ वटा राँगाहरु राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखरामा ७, राष्ट्रिय पशु प्रजनन् लाहानमा ५ र नेपालगन्जमा ३ वटा राखिने छ ।’

उनका अनुसार मुर्रा राँगाको जमेको वीर्यको माग पाँच वर्षमा दुई गुणा र १० वर्षमा करिब पाँच गुणा बढ्ने अनुमान गरिएको छ । मुर्रा राँगाको वीर्य उत्पादन वृद्धि गरी कृत्रिम गर्भाधानको क्षेत्र विस्तार गर्दै देशका विभिन्न भागमा भैंसीको नश्ल सुधारमार्फत् दूध र मासुको उत्पादन र उत्पादकत्व वृद्धि हुने अपेक्षा गरिएको उनले बताएका छन् ।